हुलाकी न्यूज ,जनकपुरधाम : जनकपुरधामकी आरती साहका पतिलाई जिल्ला अदालत धनुषाले कैद सजायको फैसला सुनाएको छ ।
अदालतले आरतीमाथि एसिड प्रहार गर्ने उनका पति सञ्जिव साहलाई १० वर्ष ६ महिना कैद, ६ लाख ५० हजार रुपैयाँ जरिवाना र ६ लाख ५० हजार क्षतिपूर्ति तिराउने फैसला सुनाएको जिल्ला अदालत धनुषाका सूचना अधिकारी गंगाकुमार मिश्रले जानकारी दिएका हुन् ।गत साउन २५ गते जिल्ला अदालत धनुषाको इजलास नम्बर–३ का न्यायाधीश कृष्णमुरारी शिवाकोटीको एकल इजलासले आरतीका पति सञ्जीवलाई दोषी ठहर गरेको थियो । सोही घटनामा संलग्न रहेका एसिड बेच्ने व्यापारी नागेन्द्र साहलाई भने सफाइ दिइएको थियो ।
गत कात्तिक २९ गते दीपावलीका दिन जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–७ स्थित ससुरालीमा गएर सञ्जीवले आरती र छोरी रियामाथि एसिड प्रहार गरेका थिए ।
घटनापश्चात् सरकारी वकिलको कार्यालयले जिल्ला अदालत धनुषामा सञ्जीव र एसिड बेच्ने व्यापारी नागेन्द्र साहमाथि १५ वर्ष ६ महिनाको सजाय माग गर्दै अभियोगपत्र दर्ता गराएका थिए । दुवैजनाविरुद्ध अंगभंग, कुरुप र एकीकृत कसुर गरी ३ वटा कसुरको सजायका लागि माग दाबी गरिएको थियो । यस मुद्दामा यसअघि ६ वटा पेसी भए पनि विभिन्न कारणले स्थगित गरिएको थियो ।एसिड आक्रमणबाट आरतीको दाहिने आँखा गुम्नुका साथै घाँटी, छातीलगायत अंग कुरुप बनेका छन् । एसिड आक्रमणमा परी उनकी छोरी रियाको दाहिने हात र टाउकोमा खत बसेको छ ।
घरायसी विवादका कारण माइतमा बस्दै आएका कारण सञ्जीवले आरतीमाथि एसिड प्रहार गरेको आरतीकी आमा सुनिताले बताइन् । केही वर्षअघि पनि सञ्जीवले मट्टीतेल खन्याएर आगो लगाई आरतीलाई मार्ने प्रयास गरेका थिए ।



