अमरेन्द्र कुमार यादव, जनकपुरधाम १४ मंसिर । धनुषाको ढल्केबरमा सवारी साधनहरुमा आगजनी गरेको आरोपमा धनुषा प्रहरीले ३ जना आन्दोलनलाई पक्राउ गरी मुद्दा चलाएको विरोध मधेशी मोर्चाले गर्दै आएको छ । मोर्चाले आन्दोलनकारीहरुमाथि लगाइएको मुद्दा तत्काल फिर्ता नभए प्रतिकार गर्ने चेतावनी दिएको छ । पक्राउ पर्नेहरुमा क्षीरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगर बस्ने २१ बर्षीय शम्भु साह, २० बर्षीय दिपक कुशवाहा र भुचक्रपर ९ का २० वर्षीय छोरा बिनोद महतो रहेका छन् ।
पक्राउ परेका तीनै जनामाथि मंगलबार ढल्केवरमा आन्दोलनको क्रममा मध्यराति शिवशंकर साहको ज६प ५५२५ र गजेन्द्र साहको ज७प २१९३ नम्बरको दुईबटा मोटरसाईकलमा आगजनी गरेको आरोपमा मुद्दा चलाइएको छ ।
यता मधेशी मोर्चाका अनुसार मधेश आन्दोलनको क्रममा भएको मोटरसाईकल आगजनी कुनै व्यक्ति विषेशल गरेको नभई मोर्चाले गरेको जनाएको छ । पेट्रोल तस्करी गरेकोले मोर्चाद्धारा सो गाडीमा आगजनी भएको मोर्चाले जनाएको छ ।
आन्दोलनकारी दिपक कुशवाहा, बिनोद महतो र शम्भु साहमाथि स्थानीय ठेकेदार राम केवल साह र प्रसाशनद्धारा मधेश आन्दोलनलाई बदनाम गर्न झुठा मुद्दा लगाइएको मोर्चाले उल्लेख गरेको छ । मोर्चाले उक्त मुद्दा तत्काल खारेज गर्न माग गरेको छ ।
मोर्चाले पक्राउ परेका व्यक्तिहरु रिहा नभएमा स्थानीय ठेकेदार राम केवल साहको बिरुद्ध कडा संघर्ष गर्ने र त्यसको जिम्मेवार स्वयम् स्थानीय प्रशासन हुने चेतावनी दिएको छ ।



