मधेशी मोर्चाका शीर्ष नेताहरूले ठूला दलका शीर्ष नेताका कारण राष्ट्रिय एकता हुन नसकेको आरोप लगाएका छन् । मोर्चाले शनिवार मोरङको विराटनगरमा गरेको जनप्रदर्शन तथा सभामा उनीहरूले सबै समुदायले बराबरीको अधिकार पाए मात्र राष्ट्रिय एकता बलियो हुन सक्ने बताएका हुन् ।

सभामा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आफूहरू राष्ट्रिय एकताको पक्षमा रहेपनि कांग्रेस, एमाले र एकीकृत नेकपा माओवादीका शीर्ष नेताहरू विखण्डनको पक्षमा लागेको आरोप लगाए । उनले मधेशीलाई अधिकारविहीन बनाइए राष्ट्रिय एकता कायम रहन नसक्ने पनि बताए ।

सभामा सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले नाकाबन्दी गर्दा मानवअधिकार र मानवीयता खोज्नेहरूले मधेशीहरू मारिदा मानवअधिकार नदेखेको टिप्पणी गरे । त्यस्तै, तराई–मधेश सद्भावना पार्टीका अध्यक्ष महेन्द्रप्रसाद यादवले अहिले जारी आन्दोलन मधेशीहरूको अन्तिम संघर्ष भएको बताए ।

तमलोपाका महामन्त्री सर्वेन्द्रनाथ शुक्लाले सेना परिचालन गर्दैमा आन्दोलन दबाउन नसकिने बताए । कार्यक्रममा संघीय लिम्बुवान पार्टीका अध्यक्ष कुमार लिङ्देनले मधेशीमाथि गोली ठोकेर राज्यले राक्षसी व्यवहार देखाएको आरोप लगाए । सभाअघि मोर्चाले जनप्रदर्शनसमेत गरेको थियो ।

सभामा लाखौं मानिसको सहभागिता थियो । सभालाई ध्यानमा राखेर विराटनगरमा व्यापक सुरक्षाकर्मी परिचालन गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.