हुलाकी न्यूज ,जनकपुरधाम : प्रदेश २ का एक पूर्वराज्यमन्त्रीले पदमा रहँदा प्रयोग गर्दै आएको गाडी तथा सीसीटिभी फिर्ता नगरेको पाइएको छ। प्रदेश २ का पूर्व आन्तरिक मामिला तथा कानुन राज्य मन्त्री सरोज सिंह कुशवाहाले पदमा रहँदा प्रयोग गर्दै आएको मन्त्रालयको गाडी र सीसीटिभी अहिलेसम्म फिर्ता नगरेका हुन्।

राज्य मन्त्रीको हैसियतमा प्राप्त सुविधा अन्तर्गत उनलाई दिइएको गाडी अहिलेसम्म प्रयोग गर्दै आइरहेको मन्त्रालयलका कर्मचारीहरू बताउँछन्। त्यस्तै आफ्नो निवासमा सुरक्षा प्रयोजनका लागि मन्त्रालयकै खर्चबाट लगाएको पाँच थान सीसीटिभीसमेत उनले फिर्ता नगरेको आन्तरिक मामिला मन्त्रालयले जनाएको हो। कर्मचारीहरूका अनुसार पटक-पटक गाडी तथा सीसीटिभी फिर्ता गर्न ताकेता गर्दासमेत पूर्वराज्यमन्त्री कुशवाहाले बेप्रवाह गर्दै आएका छन्।

आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयका सचिव वीरेन्द्र यादवले राज्य मन्त्री कुशवाहाले मन्त्रालयको एउटा गाडी अहिलेसम्म प्रयोग गर्दै आइरहेको र मन्त्रालयलाई नबुझाएको जानकारी दिएका हुन् ।

यता पूर्वराज्य मन्त्री कुश्वाहाले आफूले मन्त्री पदबाट हटे लगत्तै सबै समान फिर्ता गरेको बताएका छन्। ‘कुनै समान बाँकी छ भने मन्त्रालयलाई पत्र पठाएर कुन-कुन सामान मसँग छ भनेर पठाउन आग्रह गर्छु’, उनले भने।

जसपा सरकारमा नेपाली कांग्रेस तथा माओवादी केन्द्रलाई प्रतिनिधित्व गराउनका लागि जसपाले दुई जना मन्त्रीलाई फिर्ता बोलाएको थियो। त्यसपछि गत साउन २ गते राज्यमन्त्री कुशवाहासमेत मन्त्री पदबाट हटेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.