हुलाकी न्यूज , जनकपुरधाम : सर्लाहीमा तीन दिनदेखि हराइरहेकी एक किशोरी मृत अवस्थामा फेला परेकी छन् ।

जिल्लाको लालबन्दी नगरपालिका वडा नम्बर १७, रानीगंज निवासी राजन भुजेलकी १६ बर्षीया छोरी प्रियंकाको शव फेला परेको प्रहरीले जनाएको छ ।

३१ साउनदेखि घरबाट हराइरहेकी उनको शव लालबन्दी नगरपालिका ६ स्थित कालिन्जोर खोलामा फेला परेको सर्लाही प्रहरीका प्रबक्ता एवं डीएसपी माधवप्रसाद बुढाथोकीले जानकारी दिए ।

शव फेला परेको ठाउँ उनको घरदेखि झण्डै तीन किलोमिटर टाढा छ ।

३१ साउनमा प्रियंका हराएपछि परिवारजनले ३२ साउनमा इलाका प्रहरी कार्यालय लालबन्दीलाई जानकारी गराएको थियो ।

डीएसपी बुढाथोकीले शव सडेको अवस्थामा फेला परेको बताए । ‘मृत शरीरमा त्यस्तो निलडाम र घाउ देखिएको छैन’ उनले भने, ‘शव केही सडेको देखिएको छ ।’

किशोरीको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलगंवा पठाइएको र पोष्टमार्टमको रिपोर्ट आएपछि अन्य अनुसन्धान अगाडि बढाइने उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.