रंजन भण्डारी, जलेश्वर, १३ मंसिर । मधेश आन्दोेलन नागरिक समाज पिपरा महोत्तरीले प्रधानमन्त्री केपी ओलीलाई ज्ञापनपत्र बुझाएको छ । नागरिक समाजले आईतबार जलेश्वरमा प्रदर्शन गर्दै प्रमुख जिल्ला अधिकारी विरेन्द्र यादवमार्फत प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र बुझाएका हुन् ।
हजारौंको संख्यामा रहेका प्रदर्शनकारीले जलेश्वर नगर परिक्रमा गर्दै जिल्ला प्रशासन कार्यालयको मुलगेटमा पुगी प्रधानमन्त्री, स्थानीय सांसद र प्रशासनविरुद्ध चर्को नाराबाजी गरेका थिए ।
प्रदर्शनकारीको तर्फबाट राम जानकी यादव, राधा रमण मिश्र, शेषर कुमार मिश्र, राम भुषण मिश्र, रमण पाण्डेय, कृष्ण शंकर साह र रामलखन ठाकुरले प्रजिअलाई ज्ञापन पत्र पढेर सुनाई बुझाएका थिए ।
नया संविधानको पहिलो मस्यौदा सार्वजनिक भएपश्चात मधेशका जनताद्वारा जारी शान्तिपुर्ण संघर्षमा पहिले २६ जनाले विरगति प्राप्त गरेपनि हालसम्म ५७ जनाले विरगति प्राप्त गरिसकेको र सयौं घाईते र अपाड्ड भइसक्दा पनि राज्य आफूले गरेका पूर्वसहमतिहरु कार्यान्वयन गर्न तयार नरहेको उनीहरुको गुनासो छ ।
नागरिक समाजले विज्ञप्तिमार्फत मधेशका मागहरु पुरा गर्न माग गरेका छन् ।





