हुलाकी न्यूज,जनकपुरधाम : जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले महन्थ ठाकुर र राजेन्द्र महतोसहित १६ जना नेतालाई केन्द्रीय समितिबाट हटाएका छन् ।आगामी भदौ १ र २ मा बस्ने भनिएको जसपाको केन्द्रीय समितिको बैठकमा ठाकुर तथा महतोसहित ठाकुरनिकट १६ जना नेतालाई अध्यक्ष यादवले नबोलाउने भएका छन् । जसपाले आइतबार ठाकुर–महतोलगायतका नेताविनै निर्वाचन आयोगमा केन्द्रीय सदस्यको सूची पठाउने भएको छ ।

कार्यकारिणी समिति सदस्य इस्तियाक राईले भने, ‘अब उहाँहरू (ठाकुर,महतो) पार्टीको सदस्य मात्र हुनुहुन्छ । त्यसैले केन्द्रीय समितिको बैठकमा उहाँहरूलाई बोलाएका छैनाैं ।’

केही दिनअघि जसपाले निर्वाचन आयोगमा अद्यावधिक गर्न पठाएको सूचीमा महन्थ ठाकुरलाई अध्यक्ष पदबाट हटाइएको छ । जसपाले अद्यावधिक गरेको सूचीमा कार्यकारिणी समितिमा ३५ जना नेतालाई मात्र राखिएको छ । आयोगले सूची अद्यावधिक गरेपछि ठाकुरले अध्यक्ष पद लेख्न छाडेका छन् ।

यसअघि उनले जसपा अध्यक्षको नामबाट तराई मधेसमा कार्यक्रम गरेका थिए । जसपाको आधिकारिकताको विवादमा निर्वाचन आयोगले ‘व्यक्ति गणना’ गर्दा ठाकुरलाई साथ दिएका सबै नेतालाई पार्टी अध्यक्ष यादवले कार्यकारिणी सदस्य र केन्द्रीय सदस्यबाट हटाएका हुन् । जसपा गठन भएपछि भदौ १ र २ गते बस्न लागेको केन्द्रीय समितिको बैठक पहिलो हो ।

केन्द्रीय समितिको पहिलो बैठक नबस्दै पार्टी विभाजित भएको छ । यद्यपि कानुनी रूपमा महन्थ ठाकुर–राजेन्द्र महतो पक्षले नयाँ पार्टीको नाम घोषणा गरेका छैनन् । तत्कालीन राष्ट्रिय जनता पार्टी र समाजवादीबीच एकीकरण हुँदा सो पार्टीमा ८ सय केन्द्रीय सदस्य राख्ने सहमति गरिएको थियो । तीमध्ये पूर्वराजपाबाट ४ सय र पूर्वसमाजवादीबाट ४ सय जनालाई केन्द्रीय समितिमा राख्ने सहमति गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.