रमेश ठाकुर, रौतहट १३ मंसिर । विप्लव माओवादीले आईतबार गरेको नेपाल बन्दको अबज्ञा गरेको भन्दै बन्दकर्ताले रौतहटमा एउटा ट्रकमा आगजनी गरेका छन् । नेत्रबिक्रम चन्द नेतृत्वको माओवादीका कार्यकर्ताले बिहानै रौतहटको चन्द्रपुर नगरपालिकामा ट्रकमा आगजनी गरेका हुन् ।
सुनसरीको चतराबाट बाँस लोड गरी काठमाडौं जाँदै गरेको ना २ ख ९७६४ नम्बरको ट्रकलाई पूर्व–पश्चिम राजमार्गको चन्द्रपुर नगरपालिका अन्र्तगत पर्ने जङ्गलक्षेत्रमा चन्द नेतृत्वका कार्यकर्ताहरुले आगजनी गरेका हुन् ।
चन्द्रनिगाहपुर भन्दा ३ किलोमिटर पूर्वको जङ्गलक्षेत्रमा शौच गर्न ट्रक रोकेको बेला चार जनाको समूहमा आएका माओवादी कार्यकर्ताले ट्रकमा आगजनी गरेको ट्रकका चालक बलराम गौतमले बताएका छन् । आगजनीबाट ट्रक पुर्णरुपमा क्षतीग्रस्त भएको छ ।
चालक गौतमका अनुसार चारजनाको समूहमा आएका आन्दोलनकारीहरुले ट्रकमा पेट्रोल खन्याएर आगजनी गरेर जङ्गलतर्फ फरार भएका थिए । घटनाको बिषयमा अनुसन्धान भइरहेको र घटनामा संग्लनलाई पक्राउ गर्ने इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।
आईतवार आह्वान गरिएको बन्दको क्रममा सवारीसाधनलाई तोडफोड तथा आगजनी नगरिने विप्लव माओवादीले जनाएपनि बिहानै ट्रकमा आगजनी गरिएको छ ।



