हुलाकी न्यूज , काठमाडौं : त्रिभुवन विमानस्थल प्रहरीले करिब आधा किलो अवैध सुनसहित दुई जनालाई पक्राउ गरेको छ ।

बिहीबार बिहान ८ बजेतिर विमानस्थलको आगमन कक्ष बाहिर शंकास्पद अवस्थामा भेटिएका दुई जनालाई प्रहरीले ४७४ ग्राम सुनसहित पक्राउ गरेको हो ।

बिहान ८ बजेर १० मिनेटमा सिरहाको धनगढीमाई–८ घर भएका रिसब महतोलाई पक्राउ गरिएको हो । विमानस्थलको पार्किङ क्षेत्रमा बसिरहेका महतोको गतिविधि शंकास्पद देखिएपछि प्रहरीले खानतलासी गरेको थियो ।

उनको खानतलासीबाट सुन फेला पारेपछि साउदी अरबबाट आएका यात्रुको भरिया बनेर सुन ल्याएको पनि खुलेको छ । साउदी अरबबाट जजिरा एयरलाइन्सको उडानमार्फत् काठमाडौं उत्रिएका विभिन्न व्यक्तिलाई भरिया बनाएर सुन ल्याएको पाइएको प्रहरीले जनाएको छ ।

साउदीबाट काठमाडौं उत्रिएका विभिन्न यात्रुहरुले बाला र औंठी बनाएर ल्याएको र काठमाडौं उत्रिएपछि उनीहरुले महतोलाई दिने बित्तिकै प्रहरीले महतोलाई पक्राउ गरेको हो ।

प्रहरीले महतोको साथबाट ८ थान बाला र २ थान सुनको औंठी बरामद गरेको छ । विदेशबाट आउने नागरिकलाई भरिया बनाएर भन्सार छली गरी सुन ल्याएको भन्दै कुल ४७४ ग्राम सुनसहित महतोलाई प्रहरीले पक्राउ गरेको थियो ।

उक्त सुनको मूल्यमा ३७ लाख ३८ हजार ६७५ नेपाली रुपैयाँ हुन आउँछ । महतोकै बयानपछि प्रहरीले अर्का व्यक्तिलाई पनि पक्राउ गरेको छ ।

विमानस्थल प्रहरीका अनुसार महतोको बयानका आधारमा खोटाङ जिल्ला दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १३ घर भई तिलगंगामा खोटाङ हलेसी गेष्ट हाउस सञ्चालन गरिरहेका ४१ वर्षीय अम्बर चाम्लिङलाई समेत पक्राउ गरिएको छ ।

भन्सार छली गरी भरियामार्फत सुनको अवैध आयातमा चाम्लिङको मुख्य भूमिका देखिएको भन्दै उनीहरुलाई बरामद गरिएको सामानसहित त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.