हुलाकी न्यूज, १२ मंसिर । बिहार चुनावमा सबैभन्दा बढी सिट जितेको राष्ट्रिय जनता दल (आरजेडी)ले जारी मधेश आन्दोलनमा पूर्ण समर्थन जनाउने बताएको छ । भारतीय सञ्चार माध्यमले आरजेडीले भारतको सीमासँग जोडिएको मधेशमा बस्ने मधेशीको मामिलामा चुप नबस्ने बताएको जनाएको छ ।

लालु यादवको पार्टी आरजेडीका राष्ट्रिय उपाध्यक्ष रघुवंश प्रसाद सिंहले नेपालमा मधेशीलाई नागरिकतालगायतका विषयमा समान अधिकार दिलाउन नेपालको सीमावर्ती जिल्लामा जनसमर्थन जुटाउन सक्रिय हुने बताएका छन् । उनले नेपालसँग बेटी–रोटीको सम्बन्ध रहेको र करिब बीस लाख भारतीय नागरिकको विवाह नेपालमा भएको, करिब ६० लाख नेपाली भारतमा बस्ने गरेको भन्दै मधेश मामिलामा चुप बस्न नसकिने बताए ।

उनले नेपालमा जारी भएको नयाँ संविधानमा मधेशीलाई समान अधिकार नदिइएको र मधेशीसँग दोहोरो दर्जाको नागरिक सरह व्यवहार भइरहेको बताउँदै नेपालसँग सीमा जोडिएका सबै भारतीय राज्यका मुख्यमन्त्रीलाई भारतको केन्द्र सरकारसँग यस विषयमा कुरा गर्न आह्वान गरे ।

सिंहले नेपालको तराई वा मधेश क्षेत्रको २२ जिल्लामा ५१ प्रतिशत जनता बस्ने र पहाडका जिल्लाहरुमा ४९ प्रतिशत जनता मात्र बस्ने हुँदा पनि पहाडी क्षेत्रमा १०० र मधेशमा ६५ वटा क्षेत्र बनाएर विभेद गरिएको भारतीय सञ्चारकर्मीहरुलाई जानकारी दिए ।
सिंहले नेपाल र भारतबीचको सम्बन्ध सुमधुर बनाउन आफुले पहल गर्ने पनि बताए ।

वास्तविक समाचार स्रोत हेर्न यहाँ क्लिक गर्नुहोस ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.