हुलाकी न्यूज , जनकपुरधाम : ​एमाले नेताको एक समूहले धनुषाका एक दलित परिवारलाई घरभित्रै पसेर मरसान्न हुने गरि कुटपीट गरेका छन् । मंगलबार राति उनीहरुको कुटपीटबाट दलित समुदायका आधा दर्जनभन्दा बढी व्यक्तिहरु घाइते भएका हुन् ।

जिल्लाको धनुषाधाम नगरपालिकाका एमाले नेता योग कुमार यादवका आफन्त तथा उनको समूहले कुटपीट गर्दा नगरपालिकाका वडा नं. ४ का दलित समुदायका आधा दर्जनभन्दा बढी व्यक्तिहरु घाइते भएको स्थानीयहरुले बताएका छन ।

घाइते हुनेहरुमा श्रीचन महरा, हिरा देवी महरा, ओपिन महरा, उर्मिला महरालगायत छन् । उनीहरुको धनुषाधामस्थित स्थानीय स्तरमा उपचार भईरहेको छ ।

धनुषाधाम नगरपालिकामा एमालेबाट मेयरका प्रत्यासी यादवका आफन्तहरु संजय यादव, कृष्णा यादव, विजय यादव, धनेश यादवलगायका समूहले घरमै पसेर कुटपीट गरेको घाइते श्रीचन महराले बताए । जग्गा विवादको विषयलाई निहुँ बनाएर यादव समूहले पटक–पटक आफूहरुमाथी आक्रमण गर्ने गरेको महराले बताए ।

सामाजिक झैँ–झगडाको विषयमा विवाद हुँदा एमाले नेता यादवका आफन्तहरुले उनीहरुलाई कुटपीट गरेको सूचना प्राप्त भएको इलाका प्रहरी कार्यालय धनुषाधामका प्रहरी निरीक्षक सुरेश ठाकुरले बताए । प्रहरीको टोली घटनास्थल पुग्दा कुटपीट गर्नेहरु भागिसकेको उनले बताए । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको र दोषीलाई कारवाही गरिने प्रहरी निरीक्षक ठाकुरले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.