रंजन भण्डारी, जलेश्वर, १२ मंसिर । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले महोत्तरीमा मधेश आन्दोलनका सहिदहरुलाई श्रद्धाञ्जली अर्पर्ण गरेको छ । जिल्लाको क्षेत्र नं. २ लोहरपट्टी गाविसमा शुक्रवार श्रद्धान्जली सभामा मोर्चाले जारी मधेश आन्दोलनमा सहिद भएकाहरुलाई श्रद्धाञ्जली दिएको हो ।
मधेश आन्दोलन ३ मा प्रहरीको दमन र मानव साङ्लो बनाउने क्रममा मारिएकाहरुको आत्माको चिर शान्तिको लागि मोर्चाले श्रद्धाञ्जली सभा आयोजना गरेको थियो ।
महोत्तरीका सहिदहरु अमित कापर, रामविवेक यादव, विरेन्द्र विच्छा, रामशिला देवी, गणेश चौधरी, रोहन चौधरी, गौशाला–५ का राम प्रदिप महतो र मानव साङ्लो निर्माणका क्रममा मृत्यु भएका सिस्वा कटैया–८ सहसरामका उमेश कापरलाई स्मरण गरिएको थियो । कार्यक्रमका अध्यक्ष जानकी शरण साहले सहादत प्राप्त गरेकाहरुको परिवारलाई धैर्य धारण गर्न र ज्यानको कुर्वानी दिएकाहरुको बलिदानी खेर न जाने आश्वासन समेत दिएका थिए । उनले कार्यक्रमका प्रमुख अतिथि मृतक रोहन चौधरीका पिता विनय चौधरीलाई दोसल्ला ओढाई सम्मान गरेका थिए ।
श्रद्धाञ्जली सभामा सदभावनाकी सहमहामन्त्री सुरिता साह, तराई मधेश लोकतान्त्रिक पार्टीका वरिष्ठ उपाध्यक्ष वृष्ोशचन्द्र लाल कर्ण, जिल्ला अध्यक्ष अभिराम शर्मा, तराई मधेश सदभावना पार्टीका केन्द्रिय सदस्य सुरेश पाण्डेय, संघीय समाजवादी फोरम नेपालका जिल्ला अध्यक्ष नरेश साह लगायत दर्जनांै नेता तथा कार्यकर्ताहरुको उपस्थिति थियो ।
मृतकका परिवारलाई दोसल्ला ओढाउँदै अतिथिहरुले अबको लडाई अन्तिम लडाई भएको र सरकारले आन्दोलन जति दबाउन खोजेपनि अब जनताले अधिकार लिएरै छाड्ने बताएका थिए ।



