हुलाकी न्यूज, जनकपुरधाम : सिरहामा गत वर्ष १२ हजार भन्दा बढीले नेपाली नागरिकता लिएका छन्।
आर्थिक वर्ष २०७७/७८ को साउन देखि असारसम्ममा १२ हजार १ सय २१ जनाले नेपाली नागरिकता लिएको जिल्ला प्रशासन कार्यालय सिरहाले जनाएको छ।
सो अवधिमा ५ हजार ४ सय १८ जनाले नेपाली नागरिकताको प्रतिलिपि लिएको प्रमुख जिल्ला अधिकारी प्रदीप राज कणेँलले जानकारी दिए।
कोरोना संक्रमणका कारण निषेधाज्ञा र लकडाउन लगाए पनि नागरिकता बनाउनेको संख्यामा भने कमि नआएको हाे।
१६ वर्ष उपेर पुगेपछि नागरिकता पाउने प्रावधान रहेकोमा पुस महिनामा सबैभन्दा धेरैले नेपाली नागरिकता लिएका छन्। त्यस्तै भदौमा सबैभन्दा कमले नेपाली नागरिकता लिएका छन्।
जिल्ला प्रशासन कार्यालय सिरहाको तथ्यांक अनुसार साउनमा ४ सय ७५ जनाले नेपाली नागरिकता बनाएका छन् भने ३ सय ८७ जनाले नागरिकताको प्रतिलिपि बनाएका छन्।
त्यस्तै भदौमा २७, असोजमा १ हजार ६ सय ७२, कार्तिकमा १ हजार २ सय १३, मंसिरमा १ हजार २ सय ७६, पुसमा २ हजार १ सय ४, माघमा १ हजार ५ सय ८६, फागुनमा १ हजार ३ सय ७५, चैतमा १ हजार ५ सय ९३, बैशाखमा ५ सय २२, जेठमा २ सय ७८ र असारमा २ सय ७६ जनाले नेपाली नागरिकता लिएका छन्।
त्यस्तै राष्ट्रिय परिचयपत्रका लागि ५ हजार ५ सय ७७ जनाले विवरण दर्ता गराएका छन्। राहदानीका लागि ३ हजार ८ सय ७ जनाले निवेदन दर्ता गराएकोमा २ हजार ४ सय ६९ जनाले राहदानी पाइसकेका छन्।गत आर्थिक वर्षमा जिल्ला प्रशासन कार्यालयले २ करोड १८ लाख ९१ हजार १ सय ४० रुपैया राजश्व संकलन गरेको छ। साभार :देश्संचार