हुलाकी न्यूज, जनकपुरधाम १७ भदौ । जनकपुरधामको भ्रमरपुरा चौकमा रहेको रामजानकी पाउरोटी उद्योगमा प्रवेश गरी प्रहरीले संचालक राजेश साहसहित कामदारहरुलाई समेत कुटपिट गरेका छन् । विहीबार साँझ प्रहरीको एक टोलीले अचानक भ्रमरपुरा चौकको विभिन्न घरमा प्रवेश गरी कुटपिट गरेको हो ।
सोही समयमा भ्रमरपुरा चौकमा रहेको अजय साहको घरमा प्रवेश गरी प्रहरीले भाँडामा बसेकाहरु कुटिएका छन् । ग्यारेज संचालक शंकर यादव र उनका भाई बशन्त यादव कुटिएका छन् । त्यस्तै बाटो हिडिरहेका देवाकान्त झा, अरुण, संजयसहितलाई कुटपिट गरी महिलाहरुलाई गालीबेइजती गरेको साहले बताए ।
त्यस्तै भ्रमरपुरा चौकमा पान पसल थापेर बसेका संजीव साह र उनका भाई सुजित साह पनि कुटिएका छन् । प्रहरीहरु अचानक हुलमा आएर अन्दाधुन्द लाठी वर्साउन थालेको पान पसले साहले बताए ।



