रमेश ठाकुर, रौतहट, १२ मसिंर । रौतहटको सदरमुकाम गौरमा मधेशी मोर्चाका कार्यकर्ताहरुले शुक्रबार साँझ एउटा मोटरसाईकलमा आगजनी गरेका छन् । गौर बैरगनिया सीमानाकामा नाकाबन्दी गरी बसेका मोर्चाका कार्यकर्ताहरुले भारतबाट खाद्यान्न सामाग्री तथा पेट्रोल लिएर आउँदै गरेका सुनसरीका अमृत चौधरी चढेको को ८ प ८७२६ नम्बरको मोटरसाईकलमा चेकजाँचको क्रममा आगजनी गरेका हुन् ।
सुनसरीको चिम्ना गाविस घर भई गरुडामा रहेको फरवार्ड बैंकमा कार्यरत चौधरीको मोटरसाईकलमा फुल टंकी पेट्रोल रहेको र सोही चेकजाँचको क्रममा विवाद उत्पन्न भएपछि मोर्चाका कार्यकर्ताहरुले आगजनी गरेको जिल्ला प्रहरी कार्यालय गौरले जनाएको छ । मोर्चाका कार्यकर्ताले गरेको आगजनीका कारण मोटरसाईकल पुर्ण रुपमा जलेर नष्ट भएको छ ।



