हुलाकी न्यूज, काठमाडौं ११ मंसिर । थारु युवाहरुको राष्ट्रिय भेला हुने भएको छ । थारु एराउन्ड दी वर्ल्डको आयोजनामा थारु युवाहरुको राष्ट्रिय भेला दाङमा हुने भएको छ ।
दाङको तुल्सिपुरमा मंसिर १८, १९ र २० गते तीन दिने राष्ट्रिय भेला हुने आयोजकले जनाएको छ । थारु युवाहरुलाई एकीकृत गर्न, थारु आन्दोलनबारे रणनीति तयार गर्न र आन्दोलनलाई शसक्तरुपमा अगाडि बढाउन राष्ट्रिय भेला आयोजना गरेको थारु एरान्ड दी वर्ल्डका अध्यक्ष महावीर चौधरीले बताए ।
काठमाडौंसहित मधेशका २२ जिल्लाबाटै युवाहरुको सहभागिता रहने छ । भेलामा थारु विद्यार्थी समाज, थारु कल्याणकारिणी सभाको भातृ संगठन थारु युवा सभाको समेत सहभागिता रहनेछ ।
अध्यक्ष चौधरीका अनुसार पहिलो दिनको उद्घाटन सत्रमा थारु सांसद एवं नेताहरुको पनि उपस्थिति रहनेछ । भेलामा देशभरिका युवाहरुलाई विभिन्न प्रशिक्षण दिने कार्यक्रम रहेको चौधरीले बताए ।
‘देशभरिका युवाहरुलाई एकीकृत गर्ने मुख्य उद्देश्य लिएर कार्यक्रम आयोजना गर्न लागेका हौं,’ उनले भने, ‘भेलाले सम्पूर्ण थारु युवालाई एउटै आवाजमा समेटिन प्रशिक्षणसमेत दिइनेछ ।’
‘आन्दोलनको नेतृत्व अब थारु युवाले लिनुपर्छ । त्यसका निम्ति पनि युवाहरुलाई प्रशिक्षणको आवश्यकता ठानेर कार्यक्रम आयोजना गर्न लागेका हौं।’–चौधरीले भने ।
थारु आन्दोलनलाई उचाइमा र्पुयाउन राष्ट्रिय भेला गर्नुपरेको चौधरीले बताए । थारु नेतृत्वमा आएको फुटले आन्दोलनलाई केही कमजोर बनाएको बताउँदै उनले सबै नेताहरुलाई एउटै मञ्चमा बोलाएर एकीकृत गराउने प्रयास भईरहेको थारुवान डटकमले जनाएको छ ।



