हुलाकी न्यूज, काठमाडौं, ११ मंसिर । सीमामा सुरक्षाको प्रत्याभुति नभएको भन्दै व्यवस्थापिका संसदको सामाजिक न्याय तथा मानवअधिकार समितिले दक्षिणी सीमा क्षेत्रमा तत्काल प्रहरी पोष्ट स्थापना गर्न सरकारलाई आदेश दिएको छ । शुक्रबार सिंहदरबारमा बसेको समितिको बैठकले भारतसँग सीमा जोडिएका जिल्लामा उठाईएको प्रहरी पोष्ट तत्काल स्थापना गर्न सरकारलाई निर्देशन दिएको हो ।

तराईका जिल्लामा प्रहरी पोष्ट नहुँदा त्यहाँका जनताले सुरक्षाको प्रत्याभुति महसुस गर्न नसकेको भन्दै पोष्ट स्थापना गरी शान्ति सुरक्षा स्थापना गर्न समितिले सरकारलाई भनेको छ । समितिले मधेशमा चलेको आन्दोलन र नाकाबन्दीले उत्पन्न गराएको असहज स्थितिमा मानवअधिकारको प्रत्याभुत गर्न पनि सकारको ध्यानाकर्षण गराएको छ । त्यसैगरी तराईमा जारी आन्दोलनका क्रममा आन्दोलनरत र सरकार दुवै पक्षबाट मानवअधिकारको उलंघन भएको भन्दै प्रहरी प्रशासनका तर्फबाट अत्याधिक बल प्रयोग भएको भन्ने सन्दर्भमा पनि मातहतको निकायलाई आवश्यक निर्देशन दिन समितिले सरकारलाई निर्देशन दिएको छ ।

बैठकमा बोल्ने अधिकांश सदस्यले तराईमा जारी आन्दोलनमा समाजिक न्यायको व्यापक उलंघन भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

समितिले तराईमा जारी आन्दोलन र नाकाबन्दीका कारण जनजीवन प्रभावित हुनुको साथै मानवअधिकार र समाजिक न्यायको सिद्धान्त उलंघन भएको भन्दै सो बारे यथार्थ बुझ्न गृहमन्त्री शक्ति बस्नेतलाई बैठकमा बोलाएको थियो ।

मन्त्री बस्नेतले आफूलाई सोधिएका प्रश्नको जवाफ दिँदै मानवअधिकारको प्रत्याभुतिका लागि सरकार जुनसुकै कदम चाल्न तत्पर रहेको बताए । उनले अभाव र संकटको समयमा व्यक्तिगत लाभ उठाउने प्रवृत्ति पनि आपराधिक प्रवृति भित्र पर्ने भएकाले त्यस्ता घटनामा संलग्नलाई कारबाहीको दायरामा ल्याईने स्पष्ट पारे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.