संजय तिवारी, कलैया, ११ मंसिर । संघीय समाजवादी फोरम नेपाल बाराले प्रहरीले मधेशी युवाहरुलाई षड्यन्त्रपुर्वक फसाउन खोजेको आरोप लगाएको छ । फोरम नेपालका जिल्ला अध्यक्ष रामबाबुकुमार यादवले शुक्रवार एक प्रेस बिज्ञप्ति जारी गर्दै स्थानीय प्रहरी प्रशासनसँग त्यस्तो क्रियाकलाप बन्द गर्न र पक्राउ गरिएका मधेशी युवाहरुलाई तत्काल रिहा गर्न माग गरेका छन् ।
फोरम नेपालले नागरिकले स्वतन्त्र रुपमा बोल्न पाउने अधिकारलाई कुण्ठित गर्दै प्रहरीले गत मंसिर ७ गते बाराको बरियारपुरबाट स्वतन्त्र मधेश गठबन्धनका चार जना कार्यकर्तालाई बिना कारण पक्राउ गरी झुठा मुद्दा गाएको आरोप लगाएको छ । उसले विज्ञप्तिमार्फत प्रहरीको कदमको विरोध गर्दै उनीहरुको रिहाईको माग गरेको हो ।
त्यसैगरी फोरम नेपालले हाल मधेशमा कृषकहरुको धान कटनी र दवनी कार्यलाई मध्यनजर गर्दै कृषकहरुलाई बिहान ६ बजे देखि बेलुकी ६ बजे सम्मलाई डिजल ल्याउन छुट दिने निर्णय गरेको छ । त्यसका लागि फोरम नेपालले आफ्ना सम्पुर्ण कार्यकर्ताहरुलाई जानकारी समेत गराएको विज्ञप्तिमा उल्लेख छ । पार्टीले तस्करहरुलाई नियन्त्रण गर्न प्रभावकारी तरिकाले लाग्नसमेत आफ्ना कार्यकर्ताहरुलाई आग्रह गरेको छ ।
विज्ञप्तिमा मंसिर १५ गते मंगलवार संघीय समाजवादी फोरम नेपालको बिस्तारित बैठक आयोजना गरिने जनाईएको छ । बैठकमा पार्टीका जिल्ला, क्षेत्र, गाउँस्तरका नेता, अगुवा कार्यकर्ता तथा सक्रिय सदस्यहरुको सहभागिता रहने उल्लेख छ ।



