हुलाकी न्यूज, सप्तरी, ११ मंसिर । पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको भारदहमा सुरक्षा दिँदै लगिएको एउटा बस शुक्रबार बिहान अनियन्त्रित भई पल्टिँदा दुई जनाको मृत्यु भएको छ । सिन्धुलीबाट काँकरभिट्टाका लागि छुटेको ना ५ प १६६४ नम्बरको बस भारदह–१ स्थित कङ्कालिनी मन्दिर नजिकको सडकमा दुर्घटना हुँदा करिब २५ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा धनुषा, तुलसीपुर–४ की नौ वर्षीया निर्जला बस्नेत र अर्का एक ठेगाना नखुलेका जीवन अधिकारी रहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक मेघराज अधिकारीले बताउनु भएको छ । घाइतेलाई धरानस्थित बिपी कोइराला स्वास्थ्य प्रतिष्ठान र विराटनगरको न्युरो अस्पताल पठाइएको छ ।



