काठमाडौं, ११ मंसिर । सिरहा, सप्तरी, महोत्तरीलगायतका जिल्लाका दक्षिणी राजमार्ग क्षेत्रमा राज्यको उपस्थिति कमजोर हुँदै गएको छ । दशगजादेखि महेन्द्र राजमार्गबीचको क्षेत्र लगभग आन्दोलनकारीको कब्जामा छ । त्यस क्षेत्रका दर्जनौँ प्रहरी बिट विस्थापित भइसकेका छन् । अस्पताललगायत केही सरकारी कार्यालयमा समेत आन्दोलनकारीले कब्जा जमाइसकेको गृह मन्त्रालय स्रोत बताउँछ ।
राजमार्ग ठप्प पार्ने, प्रहरी चौकी भगाउने र आफ्नै नियन्त्रण कायम गर्ने योजनामा उनीहरू रहेको गुप्तचरको रिपोर्टमा उल्लेख छ । यस्तो अवस्थामा गृहले नयाँ सुरक्षा रणनीति बनाउन लागेको छ ।
राज्य व्यवस्था समितिमा गृहमन्त्री शक्ति बस्नेतले वास्तविक अवस्था बुझेर त्यहीअनुसार नयाँ सुरक्षा योजना बनाइने जानकारी दिएका छन् । राजमार्ग र सीमा क्षेत्रलाई लक्षित गरी गृहले नयाँ सुरक्षा योजना बनाउन लागेको हो ।
सुरुमा सशस्त्र प्रहरी र नेपाल प्रहरीको विशेष दस्ता बनाएर राजमार्ग खुलाउने र त्यति गर्दा पनि सफल नभए स्थानीय प्रशासन ऐनअन्तर्गत रहने गरी सेनालाई समेत खटाउनेबारे छलफल भएको छ । तीन महिनादेखि गृहले एकीकृत सुरक्षा योजना बनाई सबै सुरक्षा निकायलाई एकीकृत रूपमा खटाएको छ ।
करिब एक महिना सिडिओको नेतृत्वमा सेनालाई समेत खटाइएको थियो । तर, स्थिति केही सामान्य भएपछि सेना ब्यारेक फर्किएको थियो । तर, सिरहा, सप्तरी क्षेत्रमा हिंसात्मक आन्दोलन बढेपछि फेरि सेना परिचालनबारे सरकारले गृहकार्य थालेको छ ।
नयाँ पत्रिकाबाट



