हुलाकी न्यूज ,काठमाडौं : कोभिड–१९ को महामारीका कारण काठमाडौँ महानगरपालिकालाई चालू आवमा राजस्व सङ्कलन र खर्चको लक्ष्य पूरा गर्न कठिन हुने भएको छ । चालू आवमा कोभिड सङ्क्रमणको पहिलो लहर र दोस्रो लहर दुवैको असर परेकाले लक्ष्यमा पुग्न कठिन भएको बताइएको छ । कोभिड–१९ को सङ्क्रमण समुदायस्तरमा फैलिएपछि सिर्जना भएको अवस्थाका कारण लक्ष्य पूरा गर्न कठिन भएको कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलले जानकारी दिनुभयो ।

प्रवक्ता डङ्गोलले भन्नुभयो, “कामपाले चालू आव २०७७÷७८ का लागि रु १६ अर्ब ४२ करोड ७३ लाख आय अनुमान गरेर सोही अनुरूप बजेट विनियोजन गरिएको थियो । जसमा बैंक मौज्दात रु तीन अर्ब ५० करोड थियो । यसबाहेक आन्तरिकतर्फ रु ६ अर्ब ६५ लाख अनुमान गरिएको थियो । त्यसमध्ये रु चार अर्ब ६३ करोड ८२ लाख प्राप्त भएको छ । निःशर्त अनुदान बाह्यतर्फ रु एक अर्ब ४२ करोड ४८ लाख अनुमान गरिएकामा ५४ करोड ७८ लाख प्राप्त भएको छ ।”

चालू खर्चतर्फ विनियोजन गरिएको रु चार अर्ब ९२ करोड ४२ लाख गत जेठ मसान्तसम्ममा रु दुई अर्ब ५९ करोड नौ लाख खर्च भएको छ । यसैगरी पुँजीगततर्फ रु आठ अर्ब ८४ करोड २३ लाख विनियोजन गरिएकोमा रु एक अर्ब तीन करोड ३६ लाख, वित्तीय क्षेत्रतर्फ रु ३७ करोड ११ लाख विनियोजन भएकामा रु आठ करोड ५० लाख खर्च भएको छ ।

विषयगत क्षेत्रअनुसार कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रका लागि रु एक अर्ब ८४ करोड ८० लाख विनियोजन भएकामा रु एक अर्ब ३५ करोड १२ लाख अर्थात् ७३ प्रतिशत खर्च भएको छ । सामाजिक विकास क्षेत्रतर्फ रु दुई अर्ब ५७ करोड ७८ लाख विनियोजन गरिएकोमा रु एक अर्ब नौ करोड ३९ लाख अर्थात् ४२ प्रतिशत खर्च भएको छ । पूर्वाधार क्षेत्र विकासतर्फ रु सात अर्ब ८० करोड ७३ लाख विनियोजन गरिएकोमा रु ९३ करोड ९४ लाख खर्च भएको छ ।

कामपाले आगामी आव २०७८र७९ का लागि रु १८ अर्ब ९५ करोड ७७ लाख १२ हजार वार्षिक बजेट प्रस्ताव गरिएको छ । यही असार १० गते राष्ट्रियसभा गृहमा बसेको महानगरको नवौँ अधिवेशनको चौथो बैठकमा उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले प्रस्तावित बजेट पेश गर्नुभएको हो । बजेटमा कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रतर्फ रु तीन अर्ब ७५ करोड ७७ लाख, आर्थिक विकास क्षेत्रतर्फ रु ५५ करोड, सामाजिक विकासतर्फ रु दुई अर्ब ७० करोड, पूर्वाधार विकासतर्फ रु १० अर्ब ८० करोड र सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रतर्फ रु एक अर्ब १५ करोड प्रस्ताव गरिएको छ ।

प्रस्तावित बजेटमध्ये आन्तरिक आयबाट रु चार अर्ब ३४ करोड ३२ लाख व्यहोरिने छ । त्यसैगरी राजश्व बाँडफाँडबाट रु दुई अर्ब ५८ करोड २५ रहेको छ । आगामी आवको प्रस्तावित बजेटमाधि शुक्रबार थप छलफल हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.