हुलाकी न्यूज डेस्क, १० मंसिर । अपडेट : २०७१ मंसिर १० गते नेपाल सरकारले चार सयभन्दा बढी मधेशीलाई गिरफ्तार गरेको रंगभेदी गिरफ्तारीको एक वर्ष पुरा भएको अवसरमा स्वतन्त्र मधेश गठबन्धनले मधेशका जिल्लाहरुमा आयोजना गरेको कार्यक्रमहरुबाट गठबन्धनका दर्जनौं कार्यकर्ताहरु पक्राउ परेका छन् ।
ब्यानर र प्लेकार्डहरु बोकी शान्तिपूर्ण प्रदर्शनमा रहेका प्रदर्शनकारीहरुलाई प्रहरीले विभिन्न जिल्लाबाट ठूलो संख्यामा पक्राउ गरेको छ ।
सिरहाको लहानबाट गठबन्धनका जिल्ला संयोजकसहित दर्जनौं कार्यकर्ता पक्राउ परेका छन् । सयोजक केदारनाथ यादव, नेता विष्णु चौधरीलगायतका कार्यकर्ताहरुलाई प्रहरीले गिरफ्तार गरेको छ ।
गठबन्धनका कार्यकर्ताहरुले प्रहरीले लाठीचार्ज गरेको पनि बताएका छन् । शान्तिपूर्ण जुलुसबाट प्रहरीले माइक, स्पिकर, पर्चा पम्पलेटहरु खोसेर लगेको छ ।
यता, ईलाका प्रहरी कार्यालय लहानका डिएसपी राम केसीले कार्यक्रम गर्न नरोकेको तर राजमार्गमा जुलुस ननिकाल्न आग्रह गर्दागर्दै जुलुस अगाडि बढेपछि बल प्रयोग गर्नुपरेको बताएका छन् ।
त्यस्तै रौतहटको गौरबाट पनि प्रहरीले डा. सीके राउतका दर्जनौं समर्थकलाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा जिल्ला संयोजक अशोक सिंह, सहसंयोजक विरेन्द्र साहलगायतका रहेकाछन् । उनीहरुलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।
त्यस्तै पर्साबाट गठबन्धनका जिल्ला संयोजक राजेश यादव पक्राउ परेका छन् ।
स्वतन्त्र मधेश गठबन्धनले बिहिबार राजधानीलगायत पर्सा, रुपन्देही, बारा, धनुषा, सप्तरी, नवलपरासी, बाँकेलगायतका मधेशका सबैजसो जिल्लाहरुमा एक वर्ष अगाडि काठमाडौंमा भएको रंगभेदी गिरफ्तारीको वार्षिकी मनाउँदै विशाल कार्यक्रम आयोजना गरेको थियो ।
कार्यक्रममा गठबन्धनका कार्यकर्ताहरु उपस्थित हुनुका साथै ठूलो संख्यामा डा. राउत समर्थक र युवाहरुको सहभागिता थियो ।
उनीहरुले फ्री मधेश, स्टप जिनोसाइड लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए । त्यस्तै सहभागीहरुले स्वतन्त्र मधेश आजाद देश, रंगभेद अन्त्य गर, मधेशबाट नेपाली सेना तथा प्रहरी फिर्ता गरलगायतका नारा लगाएका थिए ।
……………………….
देशको विभिन्न भागबाट स्वतन्त्र मधेश गठबन्धनका सयौं नेता तथा कार्यकर्ताहरु पक्राउ परेका छन् ।
गठबन्धनले रंगको आधारमा काठमाडौंबाट मधेशीहरुलाई पक्राउ गरेको एक वर्ष पुरा भएको अवसरमा आज देशैभरी प्रदर्शन गरेको छ ।
आज प्रदर्शनका क्रममा काठमाडौंसहित बीरगंज, रुपन्देही, रौतहटलगायतका स्थानबाट सयौं नेता तथा कार्यकर्ताहरु पक्राउ परेको गठबन्धनका संयोजक डा.सीके राउतले जनाएको छ ।
मधेशका अन्य जिल्लाहरुमा भने शान्तिपूर्ण प्रदर्शन गरिएको छ । केही स्थानमा प्रहरीले हस्तक्षेप गरी कार्याक्रम विथोलेको गठबन्धनले जनाएको छ ।






सत्यलाई जति दबाउने प्रयास गरिन्छ, त्यो त्यतिकै बिस्फोट हुन्छ