हुलाकी न्यूज, काठमाडौं, १० मंसिर । स्वतन्त्र मधेश गठबन्धनले नेपाल सरकारद्वारा गरिएको रंगभेदी गिरफ्तारीको वार्षिकी मनाउँदैछ । ठिक एक वर्ष पहिले २०७१ मंसिर १० गते राजधानीबाट कालो वर्ण र मधेशी अनुहारका चार सयभन्दा बढी व्यक्तिलाई नेपाल प्रहरीले बिना कुनै कसुर र प्रमाण गिरफ्तार गरेको थियो । राजधानीको विभिन्न ठाउँमा कालो वर्णका सबैलाई अन्धाधुन्द समातिएको एक वर्ष पुगेको दिन पारेर गठबन्धनले बिहिबार राजधानीलगायत मधेशका सबै जिल्लामा विभिन्न कार्यक्रमहरु गर्दैछ ।

राजधानीमा पुलचोकस्थित संयुक्त राष्ट्र संघको कार्यालय अगाडि अपराह्न ३ बजे गठबन्धनले शान्तिपूर्ण प्रदर्शन गर्दैछ । त्यस्तै मधेशका सबै जिल्लामा गठबन्धनको जिल्ला समितिहरुले विभिन्न कार्यक्रम गर्दैछन् ।

गत मंगलबार मात्र प्रहरीले बारा जिल्लामा वार्षिकी कार्यक्रमको तयारीका लागि जिल्ला सदस्यहरु बैठक बसिरहेको स्थलबाटै गठबन्धनका चार सदस्यलाई पक्राउ गरेको थियो ।

२०७१ मंसिर १० गते राजधानीमा अन्तर्राष्ट्रिय सम्मेलन चलिरहेको दिन पारेर डा. सीके राउत संयोजक रहेको स्वतन्त्र मधेश गठबन्धनले राजधानीको खुलामञ्चमा आमसभा गर्ने तयारी गरेको थियो । अन्तर्राष्ट्रिय समुदायको ध्यान आकृष्ट गर्न शान्तिपूर्ण आमसभा गर्ने तयारी गरेको थाहा पाएपछि नेपाल प्रहरीले मध्यरातबाटै राजधानीका विभिन्न क्षेत्रबाट मधेशीहरुमाथि धरपकड सुरु गरेको थियो ।

यसरी समातिनेमा गठबन्धनका कार्यकर्तामात्र नभएर थानकोट र कलंकीमा रात्रीबसबाट ओर्लन नपाएका मधेशीहरु, फलफूल तथा तरकारी व्यवसायी, कालिमाटी र सुनधारा क्षेत्रबाट सयौं मधेशी, पत्रकारलगायत सर्वसाधारण मधेशी पनि थिए ।

कालो वर्ण देखेरै प्रहरीले धरपकड सुरु गरेपछि एकजना सशस्त्र प्रहरीका जवान र एक जना पहाडी मुलका व्यक्ति पनि समातिएका थिए ।
प्रहरीले सो दिन कति जनालाई गिरफ्तार गरेको भन्ने कुरा नखुलाएपनि चार सयभन्दा बढी मधेशी पक्राउ परेको अनुमान गरिँदै आइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.