काठमाडौं, ९ मंसिर । प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले नाकाबन्दी लम्बिँदै जाँदा अत्यावश्यक बस्तुको अभावमा जनताको चुल्होमा आगो बल्न छाडेको अवस्थामा सरकार चुप लागेर बस्न नसक्ने बताएका छन् ।
दाहालले काँग्रेस सरकारका पालामा ल्याइएको संविधान संशोधन प्रस्तावमा सहमति जनाएर मधेसी मोर्चाले आन्दोलन फिर्ता नलिए सरकार बाध्य भएर बल प्रयोगमा उत्रने अवस्था आउने उल्लेख गरे ।
‘प्रधानमन्त्रीको पहिलो प्राथमिकता वार्ताबाटै समस्या समाधान गर्नुपर्छ भन्ने हो’, दाहालले भने, ‘संविधान संशोधन प्रस्तावमा मधेसी मोर्चा सहमत भए ठीकै छ । सहमतिमा आएनन् र मान्दैनन् भने जसरी भए पनि सरकारले जनताप्रतिको आफ्नो अभिभावकीय जिम्मेवारी पूरा गर्छ ।’
उनले राजमार्ग र सिमा क्षेत्रमा जारी अवरोध हटाउन आन्दोलनरत पक्ष सहमत नभए राज्य सबै विकल्प अपनाउन बाध्य हुने चेतावनी दिए । दाहालले आवश्यक परे राजमार्ग खुलाउन नेपाली सेनासमेत परिचालित हुन सक्ने जानकारी दिए ।
काठमाण्डु टुडेबाट



