काठमाडौं, ९ मंसिर । संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्चायोगले तराईमा सुरक्षा निकायले मानवअधिकारको पालना नगरी बढी बल प्रयोग गर्दा क्षति भएको जिकिर गरेको छ । उसले नेपाल–भारत सीमामा रहेको अवरोध खुलाएर आपूर्ति सहज गर्न पनि सम्बद्ध सबै पक्षलाई आग्रह गरेको छ ।

मानवअधिकार उच्चायुक्तका प्रवक्ता रविना सामदासनीले मंगलबार विज्ञप्ति जारी गरी ५० जनाभन्दा बढी नागरिकको मत्यु भएको र पछिल्लो समयमा सरकार तथा आन्दोलनकारी पक्षबाट हिंसा भएको भन्दै चिन्ता व्यक्त गरेकी छन् । उच्चायोगले तराईमा शनिबार र आइतबार चारजनाको मृत्यु हुने गरी भएको घटनाबारे स्वतन्त्र छानबिन गर्न पनि माग गरेको छ ।

चारजनाको मृत्यु हुने गरी सप्तरीमा भएको घटनाबारे विरोधाभाषपूर्ण सूचना आएको उनले उल्लेख गरेकी छन् । आन्दोलनकारीले ढुंगा हानेपछि प्रहरीले प्रतिरोध गरेको, तर त्यसपछि प्रहरीले अञ्चल अस्पतालमा गएरै कुटपिट गरेको पनि विज्ञप्तिमा जनाइएको छ । ‘यथार्थ पत्ता लगाएर हिंसामा संलग्न सबै पक्षलाई न्यायको कठघरामा ल्याउन स्वतन्त्र अनुसन्धान आवश्यक छ,’ उच्चायोगको विज्ञप्तिमा उल्लेख छ, ‘हामीले बल प्रयोगका क्रममा राष्ट्रिय र अन्तर्राष्ट्रिय मापदण्डको पालना गर्न नेपाललाई अनुरोध गर्दै आएका छौँ । दुर्भाग्यवश विवरणहरू सकारात्मक छैनन् र सुरक्षा निकायले त्यसअनुसारको व्यवहार नगर्दा तराईमा बढी क्षति भएको छ ।’

उच्चायोगले आन्दोलनकारीले पनि हिंसाको बाटो अवलम्बन गर्न नहुनेमा जोड दिएको छ । उच्चायोगले नेपाल–भारत सिमानामा औषधिलगायत सामान रोकिएकोमा पनि चिन्ता व्यक्त गरेको छ । यसलाई उसले अन्तर्राष्ट्रिय कानुनको उल्लंघन भनेको छ । ‘हामी जोड दिन्छौँ कि आवश्यक आपूर्तिमा अवरुद्ध हुनु बाँच्न पाउनेलगायत अन्तर्राष्ट्रिय मानवअधिकारको गम्भीर उल्लंघन हो,’ उच्चायोगले भनेको छ, ‘हामी नेपाल–भारत सिमाना सुचारु गर्न र आपूर्तिको सहज र सुरक्षित व्यवस्था मिलाउन सम्बन्धित सबै पक्षलाई आग्रह गर्छौँ ।’

नयाँ पत्रिकाबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.