हुलाकी न्यूज,जनकपुरधाम : धनुषामा पाँचौ पटक निषेधाज्ञाको समय अवधि पुनः एक हप्ताका लागि बढाएको छ ।

जिल्ला संकट व्यवस्थापन समितिको सोमबार बसेको बैठकले आगामी जेठ ३१ गतेसम्मका लागि निषेधाज्ञालाई जारी राख्ने निर्णय गरिएको हो । कोरोना संक्रमणको फैलावट रोक्न आगामी जेठ ३१ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञालाई निरन्तरता दिने निर्णय भएको प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले बताउनुभएको छ ।

धनुषाका प्रमुख जिल्ला अधिकारी बास्तोलाले प्रदेश २ मा धनुषा जिल्लामा संक्रमणको गति दोस्रो स्थानमा पुगेको र समुदाय स्तरमा कोरोना फैलिएकोले जिल्लाभरि निषेधाज्ञाको समयअवधि थपिएको जानकारी दिए ।

प्रजिअ बास्तोलाले कोरोना संक्रमणको प्रभावकारी रोकथाम तथा नियन्त्रण र यसको संक्रमण फैलिन नदिनका लागि जिल्लाभरी प्रतिकूल प्रभाव पर्नसक्ने कुनै किसिमको गतिविधि हुन र गर्न नदिन नेपाल राजपत्रमा तोकिएको अत्यावश्यक सेवाहरु बाहेकका अन्य सबै सेवा र स्थलहरु पुनः ७ दिनसम्मका लागि संक्रामक रोग ऐन २०२० को दफा २ र स्थानीय प्रशासन ऐन,२०२८ को दफा ६ को उपदफा ३ बमोजिम जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको निर्णय अनुसार धनुषा जिल्लाभरि निषेधाज्ञाको समयअवधि थपिएको जानकारी दिए ।

प्रशासनले औषधि उपचार एवं आदेशमा उल्लेख भए बमोजिमका अत्यावश्यक कामका लागि बाहेक सर्वसाधारणलाई घरबाट बाहिर ननिस्कन आग्रह गरेको छ । निषेधाज्ञामा सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, स्वीमिङ्ग पुल, सपिङ्ग मल, हाज बजार, मनोरञ्जन स्थल, सैलुन, ब्युटि पार्लर, जिम खाना, समूहमा खेलिने खेलकुद, पुस्तकालय, संग्रहालयलगायतकाहरु सञ्चालन गर्न समेत रोक लगाइएको छ ।

मालबाहक सवारी साधन, सुरक्षा र स्वास्थ्य सेवा एवं सो सम्बद्ध कर्मचारीहरुले प्रयोग गर्ने सवारी साधन, दुरसञ्चार, इन्टरनेट, एम्बुलेन्स, दमकल, शववाहन, फोहोरमैला व्यवस्थापन, खाद्यान्न, फलफुल, पेट्रोलियम पदार्थ, पानी, तरकारी, दुधजन्य पदार्थ, पशुपंक्षीको दानालगायत दुवानीका सवारी साधनहरु, आइसोलेसन एवं होल्डीङ्ग सेन्टरको व्यवस्थापनमा प्रयोग हुने सवारी साधन, अत्यावश्यक सेवा र कार्यमा प्रयोग हुने गरी अनुमति प्राप्त (पास) सवारी साधनहरु, सरकारी तथा सार्वजनिक संस्थानका सवारी साधनहरु बाहेक अन्य सबै प्रकारका निजी तथा सावैजनिक यातायातका सवारी साधनहरु (पूर्व पश्चिम राजमार्गमा वारपार गर्ने बाहेक) समेत सञ्चालन गर्न नपाइने आदेशमा उल्लेख छ ।

खाद्य वस्तु, खाना पकाउने ग्यास र निर्माण सामग्रीसँग सम्बन्धित व्यवसायहरु बिहान ६ बजेदेखि ९ बजेसम्म र औषधि तथा स्वास्थ्य सेवासँग सम्बन्धित पसलहरु चौबिसौं घण्टा स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गरी सञ्चालन गर्न पाईने उल्लेख छ । प्रशासनको यस आदेशलाई उल्लंघन गर्ने व्यक्तिलाई कानून बमोजिम कारबाही गरिने चेतावनी समेत दिइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.