राम नारायण पंडित, सिरहा, ८ मंसिर । आन्दोलन उग्र बन्दै गएपछि सिरहामा नेपाली सेनालाई हाईअलर्टमा राखिएको छ । रातीको समयमा प्रहरी स्कर्टिङमा संचालन भईरहेको सवारीसाधन रोक्न सडकमा धर्नामा बसेका मधेशी मोर्चाका कार्यकर्तालाई प्रहरीले बल प्रयोग गरी घाइते बनाई सबारीसाधन संचालन गरेको विरोधमा सोमबार बिहानैदेखि भएको प्रदर्शन उग्र बन्दै गएपछि सिरहामा नेपाली सेनालाई हाइअएलर्टमा राखिएको हो ।
सिरहाका प्रमुख जिल्ला अधिकारी डा. मानबहादुर विकले सोमबार साँझ सम्पन्न जिल्ला सुरक्षा समितिको बैठकले जिल्लाको अवस्थाको आधारमा स्थानीय प्रशासन ऐनले दिएको अधिकार अनुसार दङ्गाग्रस्त क्षेत्र घोषणा गरी सेना परिचालन गर्ने अधिकार आफूलाई दिएको जानकारी दिए । सडकमा धर्नामा बसेका मधेशी मोर्चाका कार्यकर्ताहरुलाई बल प्रयोग गरेर हटाएको विरोधमा लहानमा इलाका प्रहरी कार्यालय अगाडि टायर बालेपछि प्रदर्शनकारी र प्रहरीबीच सोमबार झडप भएको थियो ।
यता, इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायव उपरीक्षक राम केसीले प्रहरीलाई ताकेर ढुङ्गामुढा गर्न थालेपछि प्रदर्शनकारीहरुलाई धपाउन सामान्य बल मात्र प्रयोग गरेको दाबी गरे ।



