हुलाकी न्यूज, जनकपुरधामः प्रदेश २ मा आफूहरुसँग ४२ सांसद रहेको दाबी उपेन्द्र यादव समूहले गरेको छ।
केन्द्रमा पार्टी विभाजनको संघारमा रहेको जसपाको विवाद प्रदेशमा देखिएको छ। जसकारण आइतबार प्रदेश २ मा जसपाले बहुमत संसदको आधारमा संसदीय दलको नेता चयन गरेको उपेन्द्र यादव पक्षले जनाएको छ।
यादव पक्षका सांसद एवं प्रदेश सरकारका राज्य मन्त्री योगेन्द्र यादवले आफूहरुले बहुमतका आधारमा संसदीय दलको नेता चयन गरेको जानकारी दिएका छन्।
उनले आइतबारै प्रदेश सभालाई जानकारी गराउने कार्यक्रम भएपनि सोमबार प्रदेशसभामा पत्र दर्ता गराउने कार्यक्रम रहेको बताए।
मुख्यमन्त्री लालबाबु राउतको निवासमा बसेको दलको बैठकले राउतलाई नै दलको नेता चयन गरेको उनले बताए।
पूर्व समाजवादी पार्टीको ३० र राजपाको २५ सांसद रहेको थियो। जसमा राजपाबाट ६ जना आफूहरुको पक्षमा आइतबारसम्म आएको यादव समूहले जनाएको छ।