हुलाकी न्यूज, जनकपुरधाम : प्रदेश २ मा जनता समाजवादी पार्टी (जसपा)भित्रको उपेन्द्र यादव समूहले चोर बाटोबाट संसदीय दलको नेता चयन गरेको जसपाकै नेताहरुले बताएका छन्।
जसपामा उपेन्द्र यादव समूहको ३० जना सांसद हुँदा हुँदै पनि पूर्वराजपाका सांसदहरुलाई चोरेर लगेको आरोप लगाइएको छ।
उपेन्द्र यादव जनकपुरधाममा पुगेर दुई दिने गृहकार्य गरी संसदीय दलको नेता चयन प्रक्रिया अगाडि बढाउन लगाएका थिए। आइतबार मुख्यमन्त्री निवासमा भएको बैठकमा उपेन्द्र यादव समूहका सांसदहरुले दलको नेता चयन गरेको दाबी गरिएको छ।
उक्त समूहले पूर्वराजपाबाट ६ जना आफूहरुको पक्षमा आएको उपेन्द्र समूहको दाबी रहेको छ।
संसदीय दलको नेता चयनका विषयमा आफूहरुलाई कुनै जानकारी नरहेको पूर्वराजपा संसदीय दलका नेता जितेन्द्र सोनलले बताएका छन्।
‘मैले पनि समाचारबाट सुनेको छु। उहाँहरुको बहुमत थियो भने स्वस्थ्य प्रतिस्पर्धाबाट बैठक गरेर दलको नेता चयन गरे हुन्थ्यो। तर, हामीलाई जानकारी नै नदिई दलको नेता चयन भयो रे।’ सोनलले भने,‘यसले गलत परम्पराको सुरुवात गरेको छ।’
यता उपेन्द्र यादव समूहले भने आफूहरुको पक्षमा थप सांसद संख्या बढ्ने दाबी गर्दै भोलि (सोमबार) प्रदेश सभामा पत्र दर्ता गराउने जनाएको छ।