हुलाकी न्यूज, रौतहट, ८ मंसिर । सुचना तथा संचारमन्त्री शेरधन राईको निर्देशनमा गठन गरिएको छानविन टोली रौतहटको सदरमुकाम गौर छिर्न नसकेपछि राजमार्गबाटै फिर्ता गएको छ । सोमबार पर्साबाट गौरको लागि हिँडेको टोली राजमार्गस्थित चन्द्रनिगाहपुरबाट नै फिर्ता भएको हो ।
तराई मधेशमा जारी रहेको आन्दोलनमा घरेलु हातहतियारसहित सहभागी हुनको लागि मधेशमा संचालन रहेका एफएम रेडियोहरु तथा मधेशी पत्रकारहरुले आन्दोलनकारीलाई उक्साएको भन्दै मन्त्री राईको निर्देशनमा गठित ५ सदस्यीय अनुगमन टोलीले सदरमुकाम छिर्ने साहस नगरेपछि ४२ किलोमिटर परबाट नै फिर्ता भएका हुन् ।
प्रेस काउन्सिलका चन्द्रदेव कामतको नेतृत्वमा रहेका ५ सदस्यीय अनुगमन टोली गौर प्रवेश गरे बाँधेर राख्ने र अनुगमन गर्न नदिने गौरका स्थानीय एफएमहरुले संयुक्त निर्णय लिएका थिए । त्यस्तै टोलीलाई आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको कार्यकर्ताहरुको आक्रमणको त्रास पनि भएपछि पूर्वपश्चिम राजमार्गबाट नै फिर्ता भएका हुन् ।
टोलीले सदरमुकाम गौर प्रवेश गर्न नसकेपछि चन्द्रनिगाहपुरका स्थानीय पत्रकार तथा नेपाल पत्रकार महासंघ रौतहटका पूर्व सचिव संजय कार्कीसँगै आवश्यक जानकारी लिएको चन्द्रनिगाहपुरका पत्रकारहरुले जनाएका छन् ।
टोलीमा अकुरावका महासचिव गोविन्द देवकोटा, क्यानका महासचिव चन्द्र न्यौपाने, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य शितल महतो, दिपक खनालको सहभागिता रहेको थियो ।
आन्दोलनरत मधेशी मोर्चाको कार्यकर्ताहरु र स्थानीय एफएम तथा पत्रकारहरुले मधेशमा आउने अनुगमन टोलीको प्रतिकार गर्ने घोषणा पहिले नै गरिसकेका थिए ।



