
हुलाकी न्यूज,जनकपुरधाम : संघीय सरकारका अर्थमन्त्री विष्णु पौडेलले बजेट वक्तव्यमा ढुंगा, गिटी बालवा निकासी गरेर व्यापार घाटा कम गर्ने योजना रहेको जनाएका थिए। त्यसको विरोध गर्दै प्रदेश २ सरकारका मुख्यमन्त्री राउतले बजेट वक्तव्य सच्याउन आग्रह गरेका हुन्।
उनले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिमा ढुंगा, गिटी, बालुवा निकासी गर्ने योजनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्। चुरे पहाड प्रदेश २ को रक्षा कवच रहेको उल्लेख गर्दै उनले भनेका छन्, “चुरे क्षेत्रको माटो एकदमै कमजोर छ। कमजोर भू-बनोटका कारण यहाँका ढुंगा, गिटी निकालियो भने नदीको वहाव तीव्र हुने र तीव्र वहावले बगाएर ल्याउने बालुवा मधेसमा थुप्रिदै जाने प्रायः निश्चित नै छ।”
चुरेको महत्वलाई नबुझेर संघीय सरकारले अदुरदर्शी निर्णय गरेको उनको भनाइ छ। उनले भनेका छन्, “ढुंगा, गिटी, बालुवा उत्खनन् गर्ने योजनाले देशकै अन्न भण्डारको रुपमा रहेको प्रदेश २ को सम्पूर्ण भूभाग मरुभूमिकरण भई शतप्रतिशत जनताको बिल्लीबाठ हुने निश्चित छ।।”
प्रदेश २ लाई मरुभूमिकरण हुनबाट जोगाउन प्रदेश सरकार सगज रहेको उनले जनाएका छन्। संघीय सरकारले बजेट वक्तव्य नसच्याए चुरे संरक्षणका लागि प्रदेश सरकारले आवश्यक निर्णय लिने उनले चेतावनी दिएका छन्।
मुख्यमन्त्री राउतले भनेका छन्, “नेपाल सरकारको बजेट वक्तव्यलाई सच्याउन हुन आग्रह गर्नुको साथै यस्तो कार्य तत्काल नरोकिए तराई मधेसको चुरे संरक्षण र प्राकृतिक सम्पदाको रक्षार्थ प्रदेश सरकारले आवश्यक निर्णय लिनेछ।”