काठमाडौं, ८ मंसिर । नाकाबन्दीले उपचारमा परेको समस्या न्यूनीकरण गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबारबाट हेल्प डेस्क सञ्चालनमा ल्याएको छ । मन्त्रालयले बिरामी, सर्वसाधारण र अस्पतालले कुनै औषधि अभाव भएमा पैसा नलाग्ने टोल फ्री नम्बर १६६०१–३३४४४ मा खबर गर्न भनेको छ । कर्मचारीले औषधि तत्काल व्यवस्थापन गर्ने तथा उपायबारे जानकारी दिने मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले बताए । टोल फ्री नम्बर भने कार्यालय समयमा मात्रै सुचारु रहनेछ ।
औषधि व्यवस्थापन गर्न चारसदस्यीय कार्यदल
नाकाबन्दीपछि अभाव भएका अत्यावश्यक औषधि तथा उपकरण व्यवस्थापन गर्न स्वास्थ्य मन्त्रालयले सहसचिव डा. गुणराज लोहनीको संयोजकत्वमा चारसदस्यीय कार्यदल बनाएको छ । कार्यदलले सरकारी तथा निजी अस्पतालमा औषधि तथा उपकरण व्यवस्थापन, नाकामा रोकिएका औषधि रिरुट गरेर ल्याउने, देशभित्रै रहेका औषधि तथा उपकरण गन्तव्यमा पुर्याउने तथा स्वास्थ्य संस्थामा आवश्यक इन्धन सहज उपलब्ध गराउनेछ ।
अन्तर्राष्ट्रिय विमानस्थल भन्सारको औषधि प्रयोगमा
पाँच महिनादेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारमा अलपत्र रहेका डेढ अर्ब रुपैयाँभन्दा बढीको औषधि प्रयोगमा ल्याइने भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठका अनुसार विमानस्थल भन्सारलाई १ प्रतिशत भन्सार शुल्क तिरेर अलपत्र औषधि मन्त्रालयले ल्याउँदै छ । भन्सार गोदामबाट ल्याउने प्रक्रिया समयमै अगाडि नबढाउादा झन्डै १५ करोडको औषधि खेर गएको छ।
एनआरएनले तीन करोडको औषधि हस्तान्तरण गर्दै
औषधि अभाव कम गर्न गैरआवासीय नेपाली संघ (एनआरएन) ले तीन करोड रुपैयाँबराबरको औषधि दिने भएको छ । स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्था महाशाखाका अनुसार मंगलबार दिउँसो ४ बजे एनआरएनले औषधि हस्तान्तरण गर्दै छ । संघले दिएका औषधि तथा अप्रेसनका उपकरण केन्द्रीय अस्पतालका लागि लक्षित छ ।
थाई सरकारद्वारा औषधि सहयोग
थाइल्यान्ड सरकारले अत्यावश्यक औषधि नेपाललाई सहयोग गरेको छ । जीवन रक्षा र इमर्जेन्सीका औषधि तथा अप्रेसनका उपकरण थाई सरकारले सोमबार उपलब्ध गराएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिए ।
डाइरेक्ट रिलिफको औषधि यही हप्ता आउँदै
भूकम्पका वेला सबैभन्दा बढी औषधि सहयोग गरेको अमेरिकी गैरसरकारी संस्था डाइरेक्ट रिलिफले नाकाबन्दीपछि पनि औषधि सहयोग गर्ने भएको छ । पहिलो लटको औषधि बिहीबारसम्म नेपाल आइपुग्ने जानकारी आएको छ । शनिबार इमेल गरी डाइरेक्ट रिलिफले मंगलबार नै औषधि पठाउने जानकारी दिएको स्वास्थ्यसेवा विभाग आपूर्ति व्यवस्था महाशाखाका निर्देशक डा. भीम टिंकरीले बताए ।
औषधिको ‘जेनरिक नेम’ प्रयोग गर्न चिकित्सकलाई आग्रह
‘ब्रान्ड नेम’ लेख्दा अभाव देखिन सक्ने भन्दै सरकारले औषधिको ‘जेनरिक नेम’ लेखिदिन चिकित्सकलाई आग्रह गरेको छ । निर्देशक टिंकरीले भने, ‘एउटै औषधि बन्ने १५० वटा कम्पनी छन् । हरेकका ब्रान्ड नेम फरक फरक छ । त्यो नाममा पाएन भने बिरामी आत्तिन्छन् । जेनरिक नेम लेखेमा जुनसुकै कम्पनीको औषधि चलाउन सकिन्छ ।’
नयाँ पत्रिकाबाट



