स्नेहा झा,
बुधबार साँझ प्रहरीले जकपुरवासीको घर घरमा छिरेर महिला पुरुष सबैलाई पिटेपछि बिहिबार बिहानैदेखि जनकपुरको अवस्था तनावग्रस्त छ । बुधबार जिल्ला प्रशासन कार्यालयले जनकपुरका मुख्य सडकहरुलाई निषेधित क्षेत्र घोषणा गरेको थियो । निषेधित क्षेत्र घोषणा गरिएपछि पनि दोहोरो झडप, अश्रुग्याँस र हवाई फायर भइनै रहे । तर कुनै अप्रिय घटना भएन ।
यता, अन्य ठाउँमा जस्तो जनकपुरमा आन्दोलन नियन्त्रण बाहिर नगएपछि प्रहरीले नै आन्दोलनकारी र स्थानीयलाई उक्साउन थालेको जनकपुरवासी, स्थानीय पत्रकार र अधिकारकर्मीहरु बताउँछन् । विगत केही दिनको जनकपुरका घटनाक्रम केलाउने हो भने प्रशासनले नै जनकपुरमा रक्तपात मच्चाउन चाहेको शंका उब्जिन्छ ।
बुधबार साँझ जनकपुरको बिसहराचौकदेखि मुरलीचौकसम्म सडकको छेउमा रहेका सबै स्थानीयको घरमा प्रहरीले ढोका ढकढक्याउँदै भित्र प्रवेश गरी महिला र पुरुष सबैलाई पिटेको थियो । घरभित्र बसिरहेका महिलामाथि पनि प्रहरी लठी बर्साएको थियो ।
विद्यार्थीहरुलाई प्रदर्शनकारी भन्दै निर्मम तरिकाले पिटेको स्थानीय एक पत्रकारले उक्त घटना भइरहँदा नै फोनबाट जानकारी गराएका थिए । त्यसपछि जनकपुरवासी आक्रोशित भएका छन् । जनकपुरमा भएको घटनाको विरोधमा धनुषाको गाउँगाउँबाट स्थानीयहरु आक्रोशित भएर आन्दोलनमा आएका छन् ।
यता, बिहिबार नै जनकपुरमा धोती र्याली पनि हुनेभएको छ । एमाले वरिष्ठ नेता झलनाथ खनालले धोती प्रदेश बनाउने भनेर दिएको विवादास्पद र साम्प्रदायिक अभिव्यक्तिको विरोधमा बिहिबार जनकपुरमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले धोती र्याली आयोजना गरेको छ ।
यसै मौकालाई छोपी मधेश आन्दोलनविरोधीहरुले आन्दोलनमा घुसपैठ गर्ने तयारी गरेको र प्रहरी संयन्त्रले पनि सादा पोशाकमा आन्दोलनमा प्रहरी घुसपैठ गराउने षड्यन्त्र गरेको स्रोतले जानकारी दिएको छ । यी सबै घटनालाई विचार गर्दा अहिलेसम्म सबैभन्दा मर्यादित, अनुशाषित र नियन्त्रणमा रहेको जनकपुर आन्दोलनलाई भड्काउन स्थानीय प्रशासन र मधेश विरोधी तत्व सक्रिय रहेको बुझ्न सकिन्छ ।
प्रदेशको सीमांकन भएपछि नागरिक समाजबाट विरोधको पहिलो बिगुल फुँक्ने सहर जनकपुर नै हो । गएको २२–२३ दिन यता सबैभन्दा नियन्त्रित आन्दोलन पनि जनकपुरमै भएको छ । जनकपुरमा शान्तिपूर्ण र अहिंसात्मक आन्दोलनको झलक आमरण अनसनमा बसिरहेका आन्दोलनकारीहरुले पनि दिन्छन् ।
अचम्म, यतिका दिनसम्म निकै व्यवस्थित र मर्यादित आन्दोलन भएको जनकपुरमा मंगलबार एक्कासी भालासहितका घरेलु हातहतियारसहितका प्रदर्शनकारी सडकमा देखिए भनेर प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीले बताए । फोनमा जानकारी गराउँदै उनले बुधबार पनि भालासहितका प्रदर्शनकारी देखिएकाले निषेधित क्षेत्र तोकिएको पनि जनाए ।
प्रजिअको भनाईलाई सही मान्ने हो भनेपनि मंगलबार वा बुधबार प्रदर्शनकारीले प्रहरीमाथि आक्रमण गरेनन् । यता, जनकपुरमा आन्दोलनकारी पनि आन्दोलनमा घुसपैठ हुन थालेको आरोप लगाउन थालेका छन् ।
जनकपुरमा बुधबार प्रहरीले स्थानीयलाई आक्रोशित बनाउने प्रयास गरेपछि बुधबार साँझ नै ५०० को संख्यामा थप प्रहरी खटाइएको छ । यी सबै घटनाक्रमलाई विचार गर्दा जनकपुरको आन्दोलनलाई पनि वीरगंज र टिकापुरजस्तै बदनाम गराउन प्रहरी र स्थानीय प्रशासन नै सक्रिय रहेको आभाष हुन्छ ।
धनुषा जिल्लाको पूर्वी क्षेत्र अर्थात कमला नदीको क्षेत्रलाई क्रान्तिकारी क्षेत्र मानिन्छ । माओवादीको जनयुद्ध होस् वा अन्य कुनै क्रान्तिकारी घटना त्यस क्षेत्रमा प्रवेश पाएपछि निकै आक्रमक हुने इतिहास पनि छ । हाल त्यस क्षेत्रको रधुनाथपुर, बरमझिया, सबैला, पटेर्वालगायतको ग्रामीण क्षेत्रमा पनि आन्दोलन चक्रिएको छ । त्यस क्षेत्रका जनता उग्र भएर जनकपुरधाममा पस्ने हो भने स्थानीय प्रशासनको नियन्त्रणभन्दा बाहिर जानेछ । तसर्थ प्रहरी र प्रशासनले जनकपुरधामलाई भड्काउने प्रयास गर्नु हुँदैन ।



