राम नारायण पंडित, सिरहा, ७ मंसिर । प्रहरीले सुरक्षा घेरामा सवारी साधन गन्तव्यतिर पठाएको भन्दै त्यसलाई रोक्न सडकमै पाल राखेर धर्नामा बसेका मधेशी मोर्चाका कार्यकर्ताहरुलाई सिरहाको लहान, चोहर्बा सहित विभिन्न ठाउँमा गए राति प्रहरीले बल प्रयोग गरी तितरबितर पारेको छ । पूर्वपश्चिम लोकमार्ग अन्तर्गत लहानस्थित शहीद रमेश चोकमा टेण्ट राखेर धर्नामा बसेका मोर्चाका कार्यकर्ताहरुलाई प्रहरीले राती करिब दस बजेतिर बल प्रयोग गरी तिरबितर बनाएको छ ।

मोर्चाका सदस्य राकेश झा र वैद्यनाथ साहको नेतृत्वमा धर्नामा बसेका आन्दोलनकारीलाई पूर्व, दक्षिण र पश्चिमतिरबाट घेरा हालेर आएको प्रहरीले टेण्टमा क्षति पुर्याउनुका साथै कुटपिट गर्दै हटाएको संयोजक कृष्ण बहादुर यादवले जानकारी दिए ।

प्रहरीको कुटपिटबाट एक दर्जन भन्दा बढी घाइते भएका छन् । प्रहरीले धर्नामा बसेकाहरुलाई कुटपिट गरेपछि पूर्व पश्चिम सडक नजिकै रहेको कैलाश सिनेमा हल लहानको परिसरमा आन्दोलनकारीका लागि संचालन गरिएको मेसका भाँडावर्तन, खाद्यान्नहरु पनि छरपष्ट गरिदिएको छ ।

यता इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायव उपरीक्षक राम के.सी.ले निषेधित क्षेत्र अन्तर्गत पर्ने सडकमा धर्नामा बसेकाहरुलाई सम्झाएर हटाएको दावी गरेका छन् । त्यस्तै, सिरहा सदरमुकाम जाने नाका नयाँ चोहर्वास्थित सडकमा धर्नामा बसेका आन्दोलनकारीलाई प्रहरीले बल प्रयोग गरेर हटाउँदा ६ जना घाइते भएको फोरम गणतान्त्रिकका सिरहा उपाध्यक्ष रामजकुमार महतोले बताए । महतोका अनुसार मध्यरातमा प्रहरीले लाठीचार्ज सहित कुटपिट गर्दा विद्यार्थी फोरमका केन्द्रीय अध्यक्ष दिपेन्द्र महतो, फोरमका जिल्ला सदस्य रामलाल यादव, ट्रेड युनियनका जिल्ला अध्यक्ष कुलिया यादव, लक्ष्मण यादव सहित आधा दर्जन घाइते भएका छन् ।

प्रहरीले आन्दोलनकारीलाई बल प्रयोग गरेर हटाउने क्रममा ६ राउण्ड हवाई फायर समेत गरेको धर्नामा बसेका धनीलाल यादवले बताए । जिल्ला प्रहरी कार्यालय सिरहाले भने सामान्य बल प्रयोग मात्र गरेको तर हवाइ फायर नगरिएको दावी गरेको छ ।

प्रहरीले बल प्रयोग गर्दा घाइते भएका अधिकांशको टाउको र ढाडमा चोट लागेको महतोले जनाएका छन् । घाइते आन्दोलनकारीहरुको विभिन्न अस्पतालमा उपचार भईरहेको छ ।

सिरहाको स्थानीय प्रशासनले सिरहामा निषेधित क्षेत्र घोषणा गरी धर्ना जुलुस गर्न निषेध गरेपछि सुरक्षाकर्मीले गएराती पूर्व र पश्चिमतर्फ जाने एक हजार भन्दा बढी साना ठूला सवारी साधनलाई पठाएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । यता, प्रहरीले गाडीहरुलाई लाँदै गर्दा प्रदर्शनकारीले सिरहाको बिभिन्न स्थानमा दर्जनौ गाडीमाथि ढुंगामुढा गरी तोडफोड गरेका छन् ।

यसैबीच, संविधानको विरोध गर्दै मधेशी मोर्चाद्वारा जारी आन्दोलनको क्रममा विभिन्न जिल्लामा हिंसात्मक झडप हुन थालेपछि सिरहाको स्थानीय प्रशासनले जिल्लाको पूर्व पश्चिम सडकको पाँच सय मिटर दायाँ वायाँ क्षेत्रमा साँझ ७ बजेदेखि लागू हुने गरी पुनः निषेधित क्षेत्र घोषणा गरेको छ । स्थानीय प्रशासनले गत कार्तिक ३ गतेदेखि जिल्लाको पूर्व पश्चिम सडकको पाँच सय मिटर दायाँ वायाँ क्षेत्रमा लगाएको निषेधित क्षेत्र हटाएको थियो । सिरहाका प्रमुख जिल्ला अधिकारी डा. मानबहादुर विकले जिल्ला सुरक्षा समितिको बैठकको निर्णय अनुसार अर्को आदेश नभएसम्मका लागि आईतबार साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म सिरहाको कमला नदीदेखि बलान नदीसम्म निषेधित क्षेत्र घोषणा गरिएको बताए ।

चाडपर्वको अविधमा आन्दोलन केही खुकुलो भएपछि सुरक्षाकर्मीको स्कर्टिङ्मा रातको समयमा सवारीसाधन समेत गन्तव्यतर्फ पठाइएको भन्दै मधेशी मोर्चाका कार्यकर्ताहरु सिरहाको लहान, गोलबजार, मिर्चैया क्षेत्रमा राती समेत सडकमै पाल टाँगेर बस्न थालेपछि मानवीय क्षति रोक्न पुनः निषेधित क्षेत्र घोषणा गरिएको प्रजिअ डा.विकले बताए ।

मोर्चाका कार्यकर्ताहरुले भदौ २३ गते दिउँसो लहानस्थित ट्राफिक प्रहरी कार्यालय अगाडि रहेको रुख काटेर सडकमा तेस्र्याउन खोज्दा प्रहरीले रोकेपछि दोहोरो झडप भएको थियो । त्यसको भोलिपल्ट आन्दोलनकारीहरुले जिल्ला ट्राफिक प्रहरी कार्यालयमा रहेका कागजात, कम्प्यूटर, कार्यालय परिसरमा राखिएका मोटरसाइकल जलाएपछि स्थानीय प्रशासनले पूर्व पश्चिम सडकको दायाँ वायाँ लगाएको निषेधित क्षेत्र घोषणा कार्तिक २ गते हटाएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.