रंजन भण्डारी, जलेश्वर, ७ मंसिर । जलेश्वरका स्थानीय जनताले ग्यासको खाली सिलिण्डरसहित जिल्ला प्रशासन कार्यालय आईतवार घेराउ गरेका छन् । मधेशवासी पनि नेपाल कै जनता भएको र मधेशीले समेत समान अधिकार पाउनु पर्ने माँगसहित जलेश्वरका स्थानीयहरुले प्रसासन कार्यालय घेराउ गरेका हुन् ।
काठमाडौंमा भारत र चीनबाट आएको पेट्रोल र ग्यास वितरण गर्ने तर विगत ३ महिना देखि मधेशका जनता कष्टमा बाँचिरहेपनि सरकारको ध्यान नजानु दुखद भएको भन्दै स्थानीयले जिल्ला प्रशासनमा चर्को नाराबाजी समेत गरेका थिए ।
प्रमुख जिल्ला अधिकारीले चाँडै नै ग्यास नभए दाउरा उपलब्ध गराउने प्रतिबद्धता जनाएपछि स्थिति साम्य भएको थियो । जिल्ला प्रशासन कार्यालयको प्रमुख द्वारमा करिब तीनसय ग्यासको खाली सिलिण्डर जम्मा गरिएको थियो ।



