हुलाकी न्युज : जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सी.के.राउतले प्रहरीको गोली लागी मृत्यु भएका नवलपरासीका युवक अविनाश राजभरको प्रहरिले नश्लिय हत्या गरेको आरोप लगाएका छन।
प्रेस विज्ञप्ति जारी गर्दै डा. राउतले घटनाको निश्पक्ष छानविन गरी दोषीमाथि कडा कारबाही गर्न तथा मृतकको परिवारलाई ५० लाख रुपैयाँ क्षतिपूर्ति सहयोग स्वरुप उपलब्ध गराउन माग गरेका छन ।
– जारी प्रेस-विज्ञप्ति को पूर्ण पाठ :

१. सीमाक्षेत्रको अस्पतालबाट आफ्नो बुवाको लागि अत्यावश्यक औषधी किन्न गएका नवलपरासी प्रतापपुर गाउँपालिका वडा नं. ६ का २२ वर्षीय अविनाश राजभरलाई नेपालका सशस्त्र प्रहरीले सीधै गोली हानेर गरेको नश्लीय हत्याप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ। सोको निष्पक्ष छानबीन गरी दोषीमाथि कड़ा कारबाही गर्न तथा मृतकको परिवारलाई ५० लाख रूपैयाँ सहयोग स्वरूप उपलब्ध गराउन जनमत पार्टी माग गर्दछ।

२. कोभिड-१९को दोस्रो लहरसँग जुझ्न नेपाल सरकारद्वारा गरिएको बंदाबंदी र जारी गरिएको निषेधाज्ञाको अवधि अधिकांश ठाउँमा झण्डै एक महिना पुग्न लाग्दा सो अवधिभर बहुसंख्यक गरीब, मजदूर तथा दैनिक ज्यालादारहरू काम गर्न बाहिर निस्कन सकेका छैनन् र उनीहरूको परिवार घरमा खानाको समस्या तथा भोकमरीसँग जुझ्दैछन्। उनीहरू घरबाहिर अत्यावश्यक कामले निस्के पनि प्रहरीको दमन र जरीवाना खेप्नु परेको छ। तसर्थ राहतको आवश्यकता रहेका सम्पूर्ण घरपरिवारका लागि सरकारद्वारा राहतको अविलम्ब व्यवस्था गर्न जनमत पार्टी माग गर्दछ।

३. कोभिड-१९ महामारीको संक्रमणको घातीय वृद्धि र उच्च मृत्युदरले जनता त्राहिमाम भइराखेका बेला नेपाल सरकार र सत्ताधारी पार्टीहरू आफ्नै खिचलोमा वर्षदिनदेखि रमाइराखेको, जनताको लागि आपत्कालीन् स्वास्थ्य सेवा प्रदान गर्न र महामारीसँग जुझ्न उचित ध्यान नदिएको, अक्सिजन, आइसियू, भेन्टिलेटर तथा औषधीको समेत चरम अभाव रहेको, सरकारी अस्पतालहरूले समेत विरामीलाई भर्ना लिन नमानेको तथा अस्पतालको द्वारमै विरामी मृत्युवरण गर्न बाध्य भएको, एम्बुलेन्ससमेत उपलब्ध नभई विरामी ट्रयाक्टर र साइकल प्रयोग गर्न बाध्य भएको, औषधीहरूको कालोबजारी भइराखेको, विभिन्न अस्पतालहरूद्वारा मनपरी रकम वसूली भइराखेको र धेरै ठाउँमा राज्य-व्यवस्था नै उपस्थित नरहेको दुर्भाग्यपूर्ण स्थिति रहेको देखिएको छ। यसर्थ जनतालाई अविलम्ब आपत्कालीन् स्वास्थ्य सेवा र अक्सिजन, आइसियू, भेन्टिलेटर तथा औषधी उपलब्ध गराउन जनमत पार्टी नेपाल सरकार समक्ष माग गर्दछ।

४. कोभिड-१९ को खोपसम्म पहुँच प्राय: जनप्रतिनिधि, सरकारी कर्मचारी, तिनका आफन्तहरू तथा कालोबजारियाहरूको मात्रै देखिएको हुँदा आम-जनतासम्म खोपको विभेदरहित पहुँच सुनिश्चित् गर्न जनमत पार्टी नेपाल सरकार समक्ष माग गर्दछ।

५. कोभिड-१९ को महामारीको समयमा समेत स्वास्थ्य सामग्री खरीद र राहत वितरणको नाउँमा जनप्रतिनिधिहरूद्वारा चरम भ्रष्टाचार भइराखेको र राज्यको साधन-स्रोतको चरम दुरुपयोग भइराखेको अवस्थामा भ्रष्टाचारको छानबिन गरी भ्रष्टाचारीहरूलाई कारबाहीको दायरामा ल्याउन जनमत पार्टी नेपाल सरकार समक्ष माग गर्दछ।

……………………………..
डा. सी. के. राउत
राष्ट्रिय अध्यक्ष, जनमत पार्टी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.