अमरेन्द्र कुमार यादव, धनुषा ६ मंसिर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत धनुषाको मिथिला नगरपालिका ढल्केवरमा गएराति आन्दोलनकारीले एउटा ट्रक र दुई वटा मोटरसाईकलमा आगजनी गरेका छन् । शनिबारदेखि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेको संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेताकार्यकर्ताले बन्दको अवज्ञा गरेको भन्दै ट्रक र मोटरसाईकलमा आगजनी गरेका हुन् ।
धनुषाको महेन्द्रनगर सखुवा बजारबाट राँगा –भैंसी लिएर काठमाडौंका लागि छुटेको ज ४ ख ६२६ नम्बरको ट्रकमा राँगा झारेर आगजनी गरेको मोर्चाले जनाएको छ । यस्तै मोर्चाका कार्यकर्ताले इन्धनको तस्करी गर्ने गरेको भन्दै ज ४ प ६६६८ र ज ७ प २७२४ नम्बरको मोटरसाइकलमा आगजनी गरेका हुन् । आगजनी गरिएको ट्रक र मोटरसाईकल पुर्णरुपले क्षतिग्रस्त भएको छ ।




