हुलाकी न्यूज, काठमाडौं ३ मंसिर । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको विहीबारको बैठकले आन्दोलनको कडा एवं ठोस निर्णय लिने भनिएपनि मोर्चाले यथावत आन्दोलनलाई निरन्तरता दिने निर्णय गरेको छ । यसअघि मोर्चाका नेताहरुले आन्दोलन कडा पार्ने धम्की दिदै आएका थिए ।
विहीबारको बैठकबाट मोर्चाका नेताहरुले विद्यालय खोल्न दिने तथा औषधिजन्य सामाग्री सहजरुपमा भित्रिन दिने निर्णय गरेको छ ।
आन्दोलन सय दिनमा पुग्ने अवसरमा कार्तिक ७ गते चौक चौकमा पाँच मिनेट मौन धारण गर्ने निर्णय गरेको छ । मंसिर ६ गते मसाल जुलुश तथा मंसिर पाँच गतेदेखि सिमानाका तथा राजमार्ग कडारुपमा अवरुद्ध गर्ने निर्णय कायम राखेको छ ।
यता जिल्ला स्तरमा मधेशी मोर्चाका कार्यकर्ताहरु कडारुपमा प्रस्तुत हुँदै आएको छ । आन्दोलनमा जिल्ला स्तरका कार्यकर्ताहरु अधिक सक्रिय भएका छन् । जिल्ला स्तरमा हुने प्रदर्शनमा अधिकांश कुनै पार्टीमा नरहेका सर्वसाधारण मधेशीहरु सहभागी हुने गरेको छ ।
सर्वसाधारणका कारण मधेशमा जारी आन्दोलनले एक सय दिन पुरा गर्न लागेको छ । मोर्चाका केन्द्रीय नेताहरुबीचको मतान्तर बाहिर आएपनि जिल्लाका मधेशीहरुमा त्यसको खासै असर नपरेको आन्दोलनकारीहरु बताउँछन् ।




