अर्कना खातुन,
काठमाण्डौं, २ मंसिर ।
आन्दोलनको क्रममा शहिद भएकाहरुलाई मधेशी सोसाईटी अफ लण्डनले आर्थिक सहयोग गरेको छ । नेपाल प्रतिनिधि अशोक कुमार साहको नेतृत्वमा गएका टोलीले शहिद सोहन साह कल्वारको घर गइ साहका आमा सुबिरा देवी र श्रीमती विनिता देवीलाई र सो दिनमै बारा कलैया गइ शहिद हिफाजत मियाँका आमा विगन नेसा र श्रीमती सबिना नेसालाई नगद रु ४१ हजार सहयोग गरेका हुन ।
सहयोग गर्न गएका टोलीहरु संघीय समाजवादी फोरम नेपालका केन्द्रिय सदस्य एव पूर्व सभासद प्रमोद गुप्ता, केन्दिय सदस्य बच्चा यादव, केन्द्रिय सदस्य चुम्बन बाबु केवत, पर्सा जिल्ला सचिव नागेन्द्र यादव, मधेशी पत्रकार समाज पर्साका अध्यक्ष संतोष पटेल, बारा जिल्ला अध्यक्ष रामबाबु यादव, तराइ मधेस राष्ट्रिय अभियान बाराका अध्यक्ष शिवनाथ पटेल र सहयोगीहरु उत्तम दादा, जितेन्द्र साह, विश्वनाथ प्रसाद सहितको टोलीले सहयोग गरेका थियो । जारी मधेश आन्दोलनको क्रममा साहको भदौ १५ गते बीरगंज उपमहानगरपालिका नगवामा प्रहरीको गोली लागि मृत्यु भएको थियो ।
यसैगरि उक्त संस्थाले आन्दोलनकै क्रममा रौतहटमा शहिद भएका राजकिशोर ठाकुरको परिवारलाई समेत सहयोग गर्नुको साथै मधेशका शहिद भएका जिल्लामा एक परिवारलाई जनही रु. ४१ हजारको दरले सहयोग गरिने नेपाल प्रतिनिधि अशोक कुमार साहले बताए । सो कार्यका लागि मधेशी सोसाईटी लण्डनका अध्यक्ष डा सुनिल साहले सक्रिय भुमिका निर्वाह गरेका हुन ।



