हुलाकी न्यूज, काठमाडौंः विभिन्न देशमा छरिएर रहेका मधेशीहरुको छाता संगठन गैर आवासीय मधेशी संघ(एनआरएमए)को अन्तर्राष्ट्रिय समितिको कार्यवाहक अध्यक्षमा शम्भूनाथ साह चयन भएका छन्।
विभिन्न ४० देशमा सक्रिय एनआरएमएका संस्थापक अध्यक्ष डा.सीके राउत हुन् भने दोस्रो अध्यक्ष ई.बसन्त कुशवाहा थिए। ई.कुशवाहा जनमत पार्टीको उपाध्यक्षमा निर्वाचित भएपछि एनआरएमएको तेस्रो अध्यक्षका रुपमा साहलाई चयन गरिएको हो।
धनुषा जिल्लाको नगराइन नगरपालिका वडा नम्बर ५ गंगुलीको किसान परिवारमा जन्मेका साह पोखराबाट स्कलरशिपमा डिप्लोमा अध्ययन गरी अमेरिकाबाट बीएससी (म्याकेनिकल) गरेका हुन्।
अध्ययन पछि सन् २००२ देखि कतार, दुबई, कुबेत र बहराइनको सरकारी तथा मल्टिनेशनल कम्पनीहरुका काम गर्दै आएका छन्। हाल उनी कतारमा एक व्यवसायीको रुपमा परिचित रहेका छन्।
सन् २०१४ बाट एनआरएमएमा सक्रिय साह साधारण सदस्य हुँदै कतार च्यापटरको दुई कार्यकाल अध्यक्ष भएका थिए। हाल उनलाई जनमत पार्टीका केन्द्रीय अध्यक्ष डा.राउतले एनआरएमएको अन्तर्राष्ट्रिय समितिको कार्यबाहक अध्यक्षमा नियुक्त गरेका छन्। साहले ६ महिनाभित्र एनआरएमएको महाधिवेशन गराउनु पर्ने जनाइएको छ।
अन्तर्राष्ट्रिय कार्यबाहक अध्यक्षमा चयन भएपछि हुलाकी न्यूजसँग कुराकानी गर्दै साहले भने,‘एनआरएमए परदेशमा रहेका मधेशीहरुको हरेक सुख, दुःखमा साथ दिने संस्था हो। यसले अन्तर्राष्ट्रिय मञ्चहरुमा मधेशको प्रतिनिधित्व गर्दै आएको छ भने मधेशको पहिचान, संस्कृतिलाई प्रचार प्रसार गरिरहेको छ।’
मधेशको अर्थतन्त्रको सुधारका लागि विश्वभरी छरिरहेका मधेशका विशेषज्ञहरुलाई एकीतृत गर्ने अभियानमा आफू लागेको अध्यक्ष साहले बताए।
‘मधेश आर्थिक रुपले कमजोर हुँदै गएको छ। यसमा आमुल परिवर्तनको आवश्यकता छ। जसका लागि हामी एनआरएमएले महत्वपूर्ण भूमिका खेल्न सक्छौं। त्यसका लागि हामीले नयाँ अभियानको थालनी गर्ने छौं।’ उनले भने,‘एनआरएमएले मधेशको अर्थतन्त्रको विकासको नेतृत्व गर्नेछ। यही मेरो प्रथम एजेण्डा र कर्म हुनेछ।’
एनआरएमएलाई ४० देशबाट अझै बढी देशहरुमा विस्तारको योजना रहेको सुनाउँदै साहले विभिन्न देशमा रहेका गैर आवासीय मधेशीहरुलाई एनआरएमएमा जोडिन् आह्वानसमेत गरेका छन्।