अर्कना खातुन,
काठमाण्डौं, २ मंसिर ।
नेपाल सद्भावना पार्टीकी नेतृ सरिता गिरीले बन्द गरिएको नाकाबाट औषधि ल्याउन आग्रह गरेकी छिन् । बुधबार उनले प्रेस विज्ञप्तिमा ‘नाकाबन्दीको प्रभावले गर्दा औषधिको अभाव सिर्जित भएको कारणले अब बिरामीहरु प्रभावित हुन थालेका छन् र दुर दराजका ठाँउहरुमा औषधि अभावको कारणले गर्दा बिरामीहरुको असामयिक र दुखद मृत्युको खबर पनि आउन थालेको छ ।’
‘नेपालको संविधान २०७२ जारी भएको संदर्भमा संविधानको विरोधमा प्रारम्भ भएको मधेश आन्दोलनले तीन महीना भन्दा बढीको अवधि पार गरी सकेको छ र यस दौरान लगभग ५० जना मधेशीले शहादत प्राप्त गरीसकेका छन् । मधेश अहिले ५० अमूल्य जीवन गुमाएको पीडाबाट मुक्त हुन सकेको छैन । आन्दोलन अहिले पनि जारी छ ।
अनिश्चितकालीन हडताल तथा नाकाबन्दीले गर्दा मधेश सहित मुलुकको सम्पूर्ण जनता प्रभावित हुन्दै गइ रहेका छन् । गरीब तथा पहुँच नभएका असहाय जनता सब भन्दा बढी पीडित छन् भने दिनहु असुरक्ष्ति हुंदै गइ रहेका छन् । राज्यको क्षमता प्रति जनताको विश्वास क्षीण हुंदै गइ रहेको छ ।
राजनैतिक संघर्षको जस्तो सुकै कठिन चरण र अवस्थामा सहिष्णुता तथा आधारभूत मानवीय मूल्य र मान्यता लाई कहिले पनि बिर्सनु हुंदैन। तसर्थ यस कठिन घडीमा न्यूनतम मानवीय संवेदनशीलताको रक्षार्थ म सम्पूर्ण आन्दोलनकारी मधेशी जनता र दलसँग नाकाबाट औषधि आउन दिने व्यवस्था मिलाई दिन विनम्र आग्रह गर्दछु ’ गिरीले भनिन् ।



