हुलाकी न्यूज,
काठमाण्डौं, १ मंसिर ।
मंगलबार देशका बिभिन्न ठाउँमा छठ पर्व हर्षोल्लासका साथ मनाइँदै । छठ पर्वको उपलक्ष्यमा ब्रतालुहरुले आफु बसेको ठाँउबाट मंगलबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ चढाए । छठ पर्वमा ब्रत बसी ब्रतालुहरु नजिकको पोखरी, नदी तलाउमा गई छठको दिन अस्ताउँदो र भोलिपल्ट विहान उदाउँदो सूर्यदेवलाई अर्घ गरी ब्रत समापन गर्ने परम्परा रहेको छ ।
यो मिथिला र हिन्दूको मात्रै नभई सबै नेपालीलाई आपसमा जोड्ने पर्व हो । त्यही भएर काठमाडौंमात्रै नभई विभिन्न ठाँउहरुमा पनि छठको आकर्षण बढेको देखिन्थ्यो । छठले धनी गरिब छुट्याउदैन, ठूलो सानो भन्दैन , यो समानता र उर्जाको पर्व हो । ‘छठ पवनी’ पनि भनीने यो पर्व कात्तिक शुक्लपक्ष पञ्चमी, षष्ठी र सप्तमी गरी तीन दिन मनाइने गर्दछ । चौथीको दिनमा भने स्नान गर्ने र चोखो खाने गर्दछन् ।
बिराटनगर
अस्ताउँदो सूर्यको पूजा गरेर मंगलबार विराटनगरमा पनि छठ मनाइयो । यहाँको सिंघिया खोलामा ब्रतालु भेला भइ छठ मनाए । तीन महिनाभन्दा बढी समयदेखिको मधेश आन्दोलन र नाकाबन्दीका कारण विगत बर्षको जस्तो भीड सिंघिया खोलामा यो पटक खासै देखिएन । साँझ यो क्षेत्रमा वर्षात भएका कारण पूजा समेतमा वाधा पर्न गयो ।
जनकपुर
छठको साँझ जनकपुर सहर अन्माउन ठिक्क पारिएकी बेहुलीझैं सजाइएको थियो । ऐतिहासिक, धार्मिक, सांस्कृतिक नगर जनकपुर आफैमा एउटा सुन्दर्ता झल्किरहेको थियो। मिथिला, अवध र भोजपुराको सर्वाधिक ठूलो पर्व छठमा मंगलबारको साँझ हजारौं युवायुवति, केटाकेटी र वृद्धवृद्धा अस्ताउँदै गरेको सूर्यलाई अघ्र्य चढाउन गंगासागर, धनुषसागर, अंगरासर, महाराजसरसँगै जलाद र दुधमतिलगायतका नदिहरुमा आएका थिए । सबैका मुहारमा खुसियाली झल्किएको थियो।
काठमाण्डौं
तराईका विभिन्न भागबाट आई राजधानीमा वसोवास गरिरहेका तराईवासीहरुका लागि यसपालि काठमाडौं महानगरपालिकाले रानीपोखरीमा छठ पर्वको आयोजना गरेको त्यहाँका कार्यान्वयन महाशाखाका प्रमुख धनपति सापकोटाले बताए । यसअघि रानीपोखरीमा विभिन्न संस्थाले छठ पूजाको आयोजना गर्दै आएको थियो । यस पर्वमा सूर्यदेवलाई चढाउन ब्रतालुहरु चोखो रहेर सख्खर र पिठोबाट बन्ने मुख्य रोटी भुसुवा र ठेकुवा सोमवार नै पकाउनुको साथै अरु आवश्यक सामाग्रीहरु समेवार देखि नै तयार गरेको पनि उनले बताए । यी रोटीहरु प्रसादको रुपमा अरुलाई बितरण पनि गर्ने गरिन्छ ।
यो पर्व आयोजना गर्न रानी पोखरीलाई झिलिमिली बत्ती बाली नयाँ दुलहीलाई झैं सिंगारेको छ । यो ब्रत खास गरेर परिवारका सदस्यहरुको सुस्वास्थ्य र दीघायुको कामना गर्दै बस्ने परम्परा रहेको छ । सबै तिर निकै भब्य रुपमा मनाइने यो ब्रत खास गरी चर्म रोग निको हुनको लागि बस्ने गर्दछन्। गत बैशाखमा गरेको महाभूकम्पले पोखरी बीचमा रहेको शिवमन्दिर चर्केकोले त्यहाँ जान भने बन्द गरेको छ ।
छठ पर्व कहिलेदेखि मनाउने गरेको भन्ने सम्वन्धमा महाभारतमा पाण्डवहरुलाई १२ वर्ष वनवास र एक वर्ष अज्ञातवास बसेको बेलामा उनीहरुले वनवास र अज्ञातवास निर्विघ्नतापूर्वक सम्पन्न होस् भनी सूर्यदेवको उपासना गरेका थिए । वनवास र अज्ञातवास दुवै निर्विघ्न रुपले सम्पन्न पनि भयो । पछि त्यसैको विश्वासले मानिसहरु सूर्योपासना गर्न थालियो र त्यसै वेलादेखि छठ पर्व मनाउन थालिएको भन्ने जनविश्वास छ ।






