हुलाकी न्यूज,
काठमाण्डौं, १ मंसिर ।
हिन्दुहरुको महानपर्व छठको अवसरमा व्यस्त हुने भएपछि नाकाबान्दीलाई प्रभावकारी बनाउँन सोको जिम्मेवारी मुस्लिम समुदायका नेता, कार्यकर्ता तथा जनताले लिएका छन् । छठ पर्वमा आ–आफ्नै गृहस्थानमा हिन्दु समुदायका नेता कार्यकर्ता तथा जनता व्यस्त हुने भएपछि बारा र पर्साको मोर्चाको संयुक्त बैठकले छठ पर्व भरी नाकाबन्दीको जिम्मा मुस्लिम समुदायलाई दिईएको छ ।
बारा जिल्लाबाट मुस्लिम समुदायहरुको बीरगंज रक्सौल नाकामा सहभागिता गराउँन सदभावना पार्टी बाराका अध्यक्ष महमद सफिक अंसारीलाई जिम्मेवारी दिईएको छ । अंसारीको नेतृत्वमा दिपावली तथा छठ पर्वको समयमा बृहत रुपमा नाकाबन्दीमा सहभागिता बढाउँन जिम्मा दिईएको संघीय समाजबादी फोरम नेपाल बाराका अध्यक्ष रामबाबुकुमार यादवले बताए ।
बिगत तीन महिना देखी तराई मधेसमा भईरहेको आन्दोलन छठ पर्वको समयमा पनि जारी रहेको छ । अहिले तराई मधेसमा छठ पर्वको समयमा बिशेष चलहपहल रहेको भए पनि आन्दोलन स्थगित गरिएको छैन् । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सहित बिभिन्न पार्टीको आहवानमा भईरहेको मधेस आन्दोलन र नाकाबन्दी आन्दोलन छठ पर्वको दोस्रो दिन सोमबार पनि जारी रहेको देखिन्छ ।
छठ पर्वको अवसरमा बजार खोल्ने बिषयमा आन्दोलन केही खुकुलो बनाईएको भए पनि बजार खोल्ने बाहेकका आन्दोलनका अरु सबै कार्यक्रम जारी नै रहेको देखिन्छ । मधेसमा बस्ने सम्पुर्ण मधेसी जनताको अधिकारको लागि भईरहेको आन्दोलन र नाकाबन्दीमा आफुहरुको बिशेष सहभागिता होस भनि हिन्दु दाजुभाइहरुको पर्वमा नाकाबन्दीको जिम्मेवारी आफुहरुले लिएको सदभावना पार्टी बाराका जिल्ला अध्यक्ष महमद सफिक अंसारीले बताए ।
संघीय प्रदेशको सिमांकनमा परिमार्जन, जनसंख्याको आधारमा निर्वाचन क्षेत्र घोषणा, राज्यको हरेक क्षेत्रमा जनसंख्याको आधारमा सहभागिता लगायतका माग गर्दै आएको मोर्चाको आन्दोलनमा बाराका मुस्लिम, हिन्दु, थारु, जनजाती, आदीबासी, महिला लगायतका मिलेर आन्दोलन गर्दै आएका छन् ।



