हुलाकी न्यूज,जनकपुरधाम : कोरोनाको दोस्रो लहरले दैनिक लाखौँलाई सङ्क्रमित बनाईरहेको बेला सिमावर्ती भारतीय शहर रक्सौलसँग र अन्य सिमानाकाहरुमा स्थानीय प्रशासनले कडाई गरेको छ ।
पर्सा जिल्ला र विशेषगरी वीरगञ्ज महानगरमा कोरोना सङ्क्रमितहरुको सङ्ख्या ह्वातै बढ्न थालेपछि प्रशासनले सिमानाकाहरुमा कडाई गरेको हो । अहिले रक्सौलबाट हुने आवागमनमा कडाई गरिएको छ ।
भारतबाट नेपाल आउनेहरूलाई अत्यावश्यक कामबाहेक भित्रिन नदिइएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले बताए ।
सक्रिय सङ्क्रमितको संख्या दिनप्रतिदिन बढ्न थालेपछि नाकामा कडाइ गरिएको सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले बताए । ‘खुला र अनियन्त्रित आवागमनले कोरोना संक्रमण अझ फैलिने जोखिम बढायो । नाकाबाट हुने आउजाउलाई निरुत्साहित गरिएको छ,’ उनले भने ।
अत्यावश्यक काम नपरी नेपालबाट भारततर्फ पनि नजान प्रशासनले आग्रह गरेको छ । पर्सामा अहिले कोरोनाका सक्रिय संक्रमितको संख्या ५०० भन्दा बढी पुगिसकेको जानकारी पौडेलले दिए ।
भारतमा संक्रमण तीव्र गतिमा फैलिएकाले खुला सिमानाबाट निर्बाध आवतजावत गर्दा संक्रमणको जोखिम बढेको निष्कर्ष प्रशासनको छ । मुख्य नाका वीरगञ्जमा दुईओटा हेल्थ डेस्क राखिएको छ ।
भारतबाट आउनेहरूको तापक्रम र कोरोनाको एन्टिजेन परीक्षण भइरहेको जिल्ला प्रशासन कार्यालय पर्साका सूचना अधिकारीसमेत रहेका पौडेलले बताए । एन्टिजेन परीक्षणमा संक्रमण पुष्टि भएकाहरूलाई आइसोलेसनमा पठाउने गरिएको जानकारी पनि उनले दिए ।
यसैबीच, बिहीवार स्थानीय कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले पर्साका प्रत्येक पालिकाहरूमा आइसोलेसन बनाउने निर्णय गरेको छ । पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेको संयोजनमा पर्साका १४ ओटा पालिका प्रमुखहरूको बैठकले कोरोना महामारीको दोस्रो लहर फैलिन नदिन आइसोलेसन र उपचारका अन्य पूर्वाधार तयारी राख्ने निर्णय गरेको पौडेलले बताए ।



