मधेश विरोधी संबिधान निर्माणको नेतृत्व गरेर मधेशमा नेपाली काँग्रेसले आफ्नो अस्तित्व गुमाउन लागेको मधेशी काँग्रेसीहरुले नै भन्न थालेका छन् । नेपाली काँग्रेस महोत्तरीमा ३५ वर्षदेखि सकृय भुमिका निर्वाह गरेका नेपाली काँग्रेस क्षेत्र नं. ४ का महासमिति सदस्य नैन्ही गाविस वडा नं. ५ सानो मलिवार निवासी ईश्वर नारायण पाण्डेयले ग्रामिण स्तरमा समेत काँग्रेसको साख खसेको बताउँछन् । उनीसँग हुलाकी न्यूजका लागि सहकर्मी रञ्जन भण्डारीले गरेको कुराकानीको संक्षिप्त अंश ।
मधेश आन्दोलन बारे तपाईको धारणा के छ ? वर्तमान अवस्थामा मधेशवादी दल र नेपाली काँग्रेसको अवस्था के छ ?
प्रथमत २०३६ सालदेखि म राजनितिमा सकृय रहको अवगत गराउन चाहन्छु । मधेश र मधेशीको हक र अधिकारको लागि आवाज आजदेखि उठेको हैन, धेरै पहिलेदेखि नै उठिरहेको आवाज हो । तथापी त्यती बेला मधेशका नेताहरुले नै विभिन्न प्रलोभनमा परेर सो मुद्दालाई दबाएको एउटा कटु सत्य पनि हामी माझ छ । २०६२।६३ को आन्दोलनले आफ्नो मधेशको अस्तित्व कायम भयो र नेपालमा मधेशसमेत छ भनेर विश्वलाई नै अवगत गरायो ।
सो आन्दोलन पछि भएको निर्वाचनमा मधेशवादी दलले अपार वहुमत पायो । सो बेला मधेशवादी दलले अग्रनी भुमिका निर्वाह गरेपनि नेपाली काँग्रेसलगायत अन्य दलमा रहेका मधेशी नेता तथा कार्यकर्ताले समेत सोमा योगदान दिए । पछि मधेशवादी दलले अपार वहुमत पाएको हो । जुन एजेन्डाका कारण मधेशवादी दलले वहुमत पाए मलाई लाग्छ सुरुवातमै मधेशवादी दलले सो एजेण्डा छोरिसके र माओवादीसंग सरकार बनाए ।
मधेशलाई विभक्त गर्न केन्द्रिय खसवादीहरु लागि परेको अवस्थामा मधेशवादी दलसमेत कमजोर रहेको देखिन्छ । खशवादीहरु भन्छन् मधेशको चारबटा कमजोरी हामीलाई थाहा छ ,युवालाई सराव र सवाव त्योभन्दा पाकोलाई कुर्सी र पैसा । यो चार कुरामा मधेशी टुटदै आएको अवस्था छ ।
कहि न कहि यो कुरा आजको आन्दोलनमा समेत लागु भएको देखिएको छ । जस्को प्रत्यक्ष नजिर विजय गच्छदारलाई हामीले देखिसकेको अवस्था छ । एकातर्फ हामी सवै मधेशी एक भन्छौ तर कहि न कहि सवै मधेशीलाई समेटन मधेशवादी दलले नसकेको अवस्था छ । उनीहरुमा आफैमा भेदभाव रहेको अवस्था छ ।
तीन महिनादेखि चल्दै गरेको आन्दोलन लम्बिनुको एउटा कारण मधेशी जनता पनि हुन । यहाका अधिकाँश जनता अशिक्षित छन । त्यसैले हामीले पहिला त मधेशका जनतार्ले लोकतन्त्र वारे जान्नु पर्छ र सो जान्न मधेशी जनतालाई साक्षर गरेर उनको हक र अधिकार वारे सम्पूर्ण जानकारी दिन आवश्यक रहेको छ । म नेपाली काँग्रेसका केन्द्रिय नेतृत्वलाई आग्रहसमेत गर्न चाहन्छु कि एउटा भनाई छ ‘मधेश तब काँग्रेस’ आज त्यो भनाई कहि न कहि समाप्त हुने कगारमा छ । आज मधेशमा काँग्रेसको जनआधार समाप्त हुदैछ र यसमा काँग्रेसको नेतृत्वकर्ता मुख्य दोषी देखिएका छन् । म खासगरी सिटौला जीलाई भन्न चाहन्छु मधेशी राष्ट्रपति या उपराष्ट्रपतिले हाउसमा केहि बोल्दा उहाँ त्यसको खण्डण गर्न खोज्छन् भने पहाडी मुलका राष्ट्रपति या उपराष्ट्रपतिले केहि बोल्दा उनको मुखबाट सोको खण्डन हुदैन किन ? मधेशको जनतालाई दबाएर राखिदै आएको छ र भेदभाव गरिदै आएको छ चाहे त्यो काँग्रेस होस, एमाले होस या एमाओवादी होस । यस्तै चल्दो भने चाडै मधेशमा काँग्रेस पुर्णरुपमा समाप्त हुनेछ ।
नेपाली काँग्रेस महोत्तरीको अवस्था के छ ?
गत संसदीय दलको चुनावमा हार र जित पछि आरोप प्रत्यारोपको क्रममा केन्द्रले समेत केहि सहि निर्णय लिन नसक्दा काँग्रेस महोत्तरी चर्मराएको अवस्था छ । हाल कागजमा भएपनि व्यवहारमा नेपाली काँग्रेस जिल्ला कार्यसमिति नरहेको अवस्था छ । सभापतिसमेतले सवैलाई समेट्न सकेनन । नयाँ ढंगबाट कार्यसमिति नआएसम्म सकृय नहुने अवस्था छ ।
नेपाली काग्रेसको नेतृत्वमा नेपालको संबिधान २०७२ जारी भयो काँग्रेस भित्रका मधेशीले किन आवाज उठाएन ?
नेपाली काँग्रेसको नेतृत्वमा बनेको संबिधानमा केन्द्रिय नेतृत्वले मधेशी नेता र कार्यकर्तालाई ठगेर ल्याएको संबिधान हो हामीलाई मधेशको सवै अधिकार मधेशीलाई दिईन्छ भनेर आश्वासन दिईयो तर त्यो भएन केन्द्रले छल गरेर ल्याएको संबिधान हो । जसमा सिटौलाजीको अहम भुमिका छ ।
मधेशमा जारी आन्दोलनमा तपाई कसरी लाग्नु भएछ ?
म नेपाली काँग्रेसको भएकोले पार्टीगत रुपमा नभएपनि व्यक्तीगत रुपले मधेशीमाथी भईरहेको भेदभावमा मलगायत काँग्रेसका अन्य नेता कार्यकर्ताले नैतिक समर्थन जनाएका छौ ।
काँग्रेसले अपेक्षा राखेको पद नपाउँदा संविधान संशोधनको कुरा त गरेको होइन ?
सवभन्दा पहिले त संबिधानमा मधेशसँग काँग्रेसले धोखा गरेको म प्रस्ट गर्न चाहन्छु । वर्तमानमा संसोधनको कुरा काँग्रेसले उठाउछ भने म त्यसलाई भुल सुधारको रुपमा लिन्छु । महोत्तरीलगायत मधेशमा आन्दोलनका क्रममा जनता मारिएपछि आन्दोलन कुनै दलमात्रको नभई आम जनसमुदायको आन्दोलन भएको कुरा समेत अवगत गराउन चाहन्छु । सोच्दै नसोचेको अवस्था आईसकेकोमा केन्द्रले भुल सुधार तर्फ उन्मुख हुदा त्यसलाई अन्यथा नलिन सवैमा मेरो अनुरोध छ । एमाले गृहमन्त्री भएको वेला मधेशमा नरसंहार भएपनि नेतृत्व काँग्रेसको भएकोले नैतिक जिम्मेवार काँग्रेस नै हो । एमाले र माओवादी विश्वास गर्ने दल नभएपनि काँग्रेसले उनीसंग जे कारणले भएपनि सरकार बनाएपनि त्यो ठुलो भुल हो र क्रमश यसलाई सुधार गरेर मधेशीको अधिकार सुनिश्चित गर्नु आवश्यक छ ।



