हुलाकी न्यूज,जनकपुरधाम : भगवान् रामचन्द्रको सम्झनामा मनाइने ‘रामनवमी’ पर्व आज देशभरि श्रद्धा र भक्तिपूर्वक पूजा आराधना गरी मनाइँदैछ । असत्यमाथि सत्यको विजय तथा भगवान् श्रीरामको सम्झनामा मनाइने रामनवमी पर्वका उपलक्ष्यमा भगवान् रामचन्द्रका मन्दिरमा पूजापाठ गरिन्छ । यस वर्ष पनि कोरोना भाइरसको सङ्क्रमणबाट बच्‍न स्वास्थ्य मापदण्ड जारी गरिएकाले भक्तजनले राम मन्दिरमा भौतिक दूरी कायम गरी पूजा, आराधना एवं दर्शन गर्नेछन् ।

जनकपुरस्थित रामजानकीको मन्दिरमा मेला हेर्न नेपाल तथा भारतका नरनारीको घुइँचो लाग्छ । त्रेतायुगमा आजकै दिन अयोध्यामा राजा दशरथ र रानी कौशल्यावतीको सुपुत्रका रुपमा विष्णुको अवतार लिएर भगवान् श्रीरामको जन्म भएको थियो । त्यही स्मृतिमा पवित्र नदी, ताल तथा कुण्डहरूमा स्नानका साथ व्रत बसी रामगीता पाठ, अध्यात्म, वाल्मीकीय, तुलसीकृत र भानुभक्तीय रामायण वाचन गर्ने र भगवान् रामको पूजा आराधना गरी रातभरि भजनकीर्तन गर्ने परम्परा छ ।

आजका दिन व्रत बसी श्री रामको पूजापाठ र जपध्यान गर्नाले चिताएको कार्य पूरा हुने र अर्को जन्ममा बैकुण्ठ वास हुने कुरा ‘व्रतार्क’ नामक धर्मग्रन्थमा उल्लेख छ । अयोध्याका राजा दशरथका जेठा छोरा भई भगवान् विष्णुको सातौँ अवतारका रूपमा जन्मनुभएका श्रीरामले मिथिलाका राजा जनककी छोरी सीतासँग विवाह गरेपछि संसारबाट पापी तथा दुष्ट राक्षसहरूको नाश गरेका थिए । धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतम ‘लोक रञ्जनात् राजा’ भन्ने शास्त्रीय मान्यतालाई श्रीरामले पूरा गरेको बताउँछन् । यसैले आदर्श राजाका रुपमा भगवान् श्रीरामको स्मरण गरिन्छ ।

रामनवमीका दिन श्रीरामको व्रत, उपवास गरी पूजा, आराधना गर्नाले यो लोकमा सुख, शान्ति र परलोकमा सद्गति पाइने रामायणलगायत धर्मग्रन्थमा उल्लेख गरिएको छ । आफ्ना पिताको कठोर आज्ञालाई सहजतापूर्वक ग्रहण गरी मानव जातिलाई सत्यको मार्गमा लाग्न प्रेरणा दिएकाले उनको सम्झनामा श्रीरामनवमी पर्व मनाउन थालिएको धार्मिक ग्रन्थमा उल्लेख छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.