हुलाकी न्यूज डेस्क । तिहार सकेलगत्तै छठ पर्वको रमझम सुरु हुन्छ । पाँच दिनसम्म विभिन्न विधिविधानका साथ छठ मनाइन्छ । पवित्रता र निष्ठाको पर्व छठको मुख्य पुजा भने कार्तिक शुक्ल षष्ठी र सप्तमीका दिन हुन्छ । षष्ठी अर्थात छैठौं दिन पुजा गरिने हुनाले नै यस पर्वको नाम छठ पर्व पर्न गएको हो ।
छठको पहिलो दिनलाई मैथिलीमा अरबाअरबाइन भनिन्छ । अर्थात त्यो दिनदेखि व्रतालुले चोखो खानेकुरा मात्र खान्छन् । नुहाईखाईभन्दा अघिल्लो दिन नै माछामासु आदि खान छोडिन्छ ।
दोस्रो दिनलाई नुहाईखाई भनिन्छ । यस दिन व्रतालुहरु पवित्र जलकुण्डमा गएर स्नान गर्छन र शुद्ध हुन्छन् । यस दिनदेखि व्रत लिनका लागि तन र मनले शुद्ध भएको प्रण लिइन्छ । छठमा शुद्धता र पवित्रताको विशेष महत्व रहन्छ । छठमा प्रयोग गरिने सबै सामग्री, प्रसाद, स्थानलगायत व्रतालु आपैm पनि शुद्ध र चोखो हुनैपर्ने मान्यता छ । सोही मान्यता अनुरुप छठको पहिलो दिनबाटै शुद्ध खानेकुरा खान सुरु गरिन्छ र दोस्रो दिनदेखि शरिर र मन शुद्ध गरी व्रत बस्ने प्रण लिइन्छ । शुद्ध मन र नियमनिष्ठाका साथ व्रत बसेका व्रतालुहरुले चिताएको सबै कुरा पुग्ने जनविश्वास छ ।
छठको तेस्रो दिनलाई खरना भनिन्छ । यस दिनदेखि छठ विधिवत रुपले शुरु हुन्छ । खरनाको दिन बिहानैदेखि ब्रतालुहरु निराहार व्रत बस्छन् । साँझ सख्खर भएको खिर पकाई केरा, लड्डु, मुलासहितको प्रसाद चढाइन्छ र त्यही प्रसाद व्रतालुले पनि खान्छन् । खरनाको प्रसाद व्रतालुले खाने बेलामा बिचमा बोल्न हुँदैन ।
छठको चौथो दिन अर्थात् षष्ठीका दिन मुख्य पुजा हुन्छ । यस दिन बिहानैदेखि छठ पुजाका लागि प्रसाद बनाउन थाल्छन् । साँझको समयमा घरका सबै सदस्यले पुजा सामग्री र प्रसाद बोकेर घाट अर्थात जलासयमा जान्छन् । नजिकैको जलाशयको घाटमा सबै पूजा सामग्रीसहित सपरिवार उपस्थित भई छठको पूजा गरिन्छ । यसदिन अस्ताउँदो सुर्यलाई अर्घ दिइन्छ र छठी मैयाको पनि पुजा गरिन्छ । जलाशयमा व्रतालुहरुले जल र विभिन्न प्रसादसहितको अर्घ दिन्छन् । हरेक अर्घमा अर्गौती हुनै पर्छ । अर्गौतीमा अदुवा, सानो पिँडालु, बेसार, सुथनी, अर्तक पात, बदाम, नरिबल, भोगटे, बधी अर्थात रातो धागो, सिन्दुर आदि हुन्छन् । अर्घमा राखिने अन्य सामानमा पान, सुपारी, सानो केराउ, दही, बारीमा फल्ने विभिन्न तरकारी र फलहरु जस्तै भेन्टा, मुला, कागती, केरा आदि हुन्छन् । छठमा माटाका भाँडाकुँडाको पनि निकै महत्व छ । जस्तै कोसीया, घैटो, माटोले बनेको हाथी र माटोका दिपहरु हुन्छन् । त्यसतै बाँसबाट बनेका सुप्ती, नांग्लो, ढकिया, पथिया, ढगरीलगायतका सामाग्रीहरु पनि पुजाका लागि प्रयोग गरिन्छ ।
अस्ताउँदो सूर्यदेवलाई अर्घ चढाउँदा सूर्यदेवलाई केन्द्रीत गरी विभिन्न लोकगीतहरु गाइन्छ । साँझमै छठीमैयालाई प्रसन्न तुल्याउन पनि विभिन्न गीतहरु गाइन्छ । विहानको अर्घ दिँदा पनि सूर्यदेवलाई निद्राबाट जगाउन “उठ हो सुरुज देव” जस्ता गीतहरु गाइन्छ ।
पुर्ण छठ गर्न असमर्थले समान्य अरघौति मात्र पनि दिन्छन् । साँझको पुजा र अर्घपछि व्रतालुहरु घर फर्किनछन्, कतिपय ठाउँमा भने रातभरी घाटमै बस्ने गर्दछन् ।
छठको अन्तिम दिन अर्थात सप्तमीको दिन पारन हुन्छ । यो दिन बिहानपख सूर्यको पूजाआजा गरी छठ व्रतको समापन हुन्छ । उदाउँदो सुर्यलाई बिहानीपख दुधको पनि अर्घ दिइन्छ । व्रतालुहरुले छठको प्रसाद ग्रहण गरेर व्रत टुंग्याउँछन् । त्यही दिन सूर्यदेवको भाकलबाट जन्मेका बच्चाहरुका लागि नटुवा नाच पनि गराईन्छ । नयाँ वस्त्र तथा मुण्डनसहित त्यो दिन बच्चाहरुलाई अगाडि राखेर छठ घाटमा नाचगान गरिन्छ । यसरी पाँच दिनको पुजा आजा, नियम निष्ठा र ३६ घण्टाको निराहार व्रतपछि छठ समापन हुन्छ । पारनका दिन छोरी चेलीहरुलाई ससुराली विदा गर्दा शुभ मानिन्छ ।



