अमरेन्द्र कुमार यादव, महेन्द्रनगर(धनुषा) २९ कार्तिक । हिन्दु धर्माम्बलीहरुको बिजया दशमी र दिपावलीको समाप्तीलगत्तै मिथिलावासीहरुको महान चाड छठ पर्वको तयारीमा जुटेका छन् । छठ पर्वमा केराको सिंगै घरी नै प्रसादको रुपमा चढाउनु पर्ने भएको हुँदा अहिले बजारमा केराको अत्यधिक देखिएको छ ।
तिहार तथा छठलाई लिएर जिल्लास्थित विभिन्न व्यापारिक केन्द्रहरुमा अहिले केराको व्यापार बढेको छ । गत शनिवार र मंगलबारमात्रै सखुवा बजारमा लाखौ रुपैयाको केराको व्यापार भएको केराका एक ठेक्केदार संतोष महासेठले बताए ।
विगतको तुलनामा यस बर्ष केराको मूल्यमा अत्याधिक बृद्धि भएको छ । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगरमा लाग्ने सप्ताहिक हाट सखुवा बजारमा जारी मधेश आन्दोलनले गर्दा यातायातको साधन संचालन नहुँदा बजारमा माग अनुसार आपूर्ति नभएकोले केराको मुल्यमा हवात्तै बृद्धि भएको एक उपभोक्ता संजीप साह बताउछन् ।
सखुवा बजारमा यतिखेर केराकोे खरिद बिक्री गर्नेको ठूलै भिड लागेको देखिएको छ । स्थानीय बजारमा केराको माँग बढेपछि स्थानीय किसानहरुले लगाएको केरा बजारमा ल्याउने क्रमसमेत जारी रहेको छ ।
बन्दको कारण बाहिरबाट नआएको र आउँदा पनि उपयुक्त आउन नसकेकाले यस बर्ष तिहार र छठको बेला सबैले केरा खरिद गर्ने भएकाले केराको मूल्य आकासिएको स्थानीय नागेन्द्र कुमार साह बताए ।
गत बर्षको तुल्नामा यस बर्ष केराको मूल्य करिब ३० देखि ४० प्रतिशत बृद्धि भएको छ । अहिले एक घरी केराको मुल्य साधारणतया ५ सयदेखि ८ सय सम्ममा बिक्री भईरहेको छ । यस क्षेत्रको प्रमुख बजारको रुपमासमेत रहेको सखुवा बजारबाट बिक्री बितरण भई बिभिन्न ठाउँ जाने गरेको स्थानीय दिलिप महतोले बताए ।



