हुलाकी न्यूज, सिराहा : यही चैत्र २० गते शुक्रवार हुन गइरहेको मिर्चैया साना शहरी खानेपानी तथा स.उ.स. निर्वाचनमा जनमत पार्टीको प्यानलले आफ्नो दावेदारी प्रस्तुत गरेको छ ।
उक्त निर्वाचनका लागी जनमत पार्टीले मिर्चैया-५ का स्वच्छ छवि एवं मिलनसार व्यक्तित्व मानिने दिलिप कुमार साहको नेतृत्वमा उपाध्यक्षमा कृष्णा कुमार साह, सचिवमा कमल कुमार ठाकुर, सहसचिवमा लक्ष्मी साह, कोषाध्यक्षमा शान्ति देवी ठाकुर, सदस्यहरुमा रुणादेवी महरा, फूलवती कुमर दनुवार,कृपाल साफि र अशोक कुमार साह गरी नौ वटै पदमा जनमत प्यानल खडा गरी मनोनयन दर्ता गराएको छ ।
जनमत प्यानलमा चियादानी (केट्ली) छाप संगै लाइनमा रहेका बांकी छापहरुमा समेत भोट दिन आग्रह गर्दै जनमत पार्टीको नगर समिती द्वारा ब्यापक रुपमा चुनावी प्रचार प्रसार गरिरहेको स्थानिय जपा नेता निर्मल मण्डलले जानकारी दिए।
जनमत प्यानलले मिर्चैया नगरपालिका भित्र खानेपानी तथा सरसफाई का लागी १२ सुत्रीय सुधारका कार्यक्रम सहित घोषणा पत्र सार्वजनिक गरेको छ ।
“स्वच्छ पानी, सहज पानी, सस्ता पानी ” को मुख्य नारा सहित चुनावी मैदानमा उत्रेको जनमत प्यानल नै विजयी हुनेमा पक्का पक्की रहेको अर्का नेता हरि पासवानले बताए ।
अहिलेका जन प्रतिनिधीहरु आफूलाई शासकको रुपमा ठान्ने गरेकोमा यदि आफू विजयी भएमा जनताको सेवकको रुपमा प्रस्तुत हुने र जनतालाई जनताराजको प्रत्याभूती दिने प्रयास आफूले गर्ने मिर्चैया साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता समितीका जनमत प्यानलका अध्यक्ष पदका उम्मेदवार दिलिप कुमार साहले बताए |