हुलाकी न्यूज, जनकपुर २८ कात्र्तिक । संविधानमा हस्ताक्षर गरेका संसदहरुलाई मधेश प्रवेशमा रोक लगाइएको छ । मधेशी मोर्चासहित विभिन्न संघसंगठनले संविधानमा हस्ताक्षर गर्ने संसदहरुलाई मधेशबाट धपाउनेदेखि प्रवेश निशेध गरेको छ ।
तीन महिनादेखि मधेश बन्द गरी आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेशी मोर्चालगायत जिल्लामा आन्दोलनको अगुवाइ गर्ने राजनीतिक दल तथा समूहहरुले सांसदलाई मधेश प्रवेशमा रोक लगाउने निर्णय गरेको हो ।
विभिन्न दश वटा राजनीतिक दल तथा युवा संगठनहरुले संयुक्त बैठक गरी यस्तो निर्णय गरेको हो । ‘नेपालको संविधान २०७२ मा हस्ताक्षर गर्ने सम्पूर्ण सांसदलाई जिल्ला प्रवेश गर्न निषेध गर्ने निर्णय भएको छ’ शुक्रबार बैठकपछि मोर्चा नेता एंव सद्भावना जिल्ला अध्यक्ष सञ्जय सिंहले बताए ।
सकभर जिल्ला प्रवेश नगर्न र आइसकेको खण्डमा उत्पन्न हुने परिस्थितिको जिम्मेवारी तिनै सांसद अथवा सरकारले लिनुपर्ने उनले बताए ।
बैठकमा धनुषा मोर्चामा आवद्ध संघीय समाजवादी फोरम नेपाल, तराई मधेश लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी, तराई मधेश सद्भावना पार्टी, राष्ट्रिय मुस्लिम संघ गठबन्धन, संयुक्त युवा संघर्ष समिति, प्रगतीशिल मधेशी समाज, मधेश हकहित मोर्चा, मधेश नागरिक समाज संघर्ष समिति र मधेश अधिकार संघर्ष समितिका अध्यक्ष एंव संयोजक सहभागी थिए ।



